धनुषाको माटोमा छारियपनाको मात्रा बढी, पोटास र फस्फोरसको कमी

जनकपुरधाम । धनुषा जिल्लाको माटोमा छारियपनाको मात्रा बढी पाइएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन ईकाई धनुषाले जिल्लाको धनुषाधाम तथा हंशपुर नगरपालिकामा गरेको माटोको नमूना परीक्षणवाट सो तथ्य सार्वजनिक भएको छ ।
यसका साथै माटोमा पोटास तथा फोस्फोरसको कमी देखिएको कृषि प्राविधिक राहुलदेव शाहले जानकारी दिनु भएको छ । ती दुई पालिकाको ३ सय ५२ वटा माटोको नमूना संकलन गरेर परीक्षण गर्दा सो तथ्य बाहिर आएको शाहले जानकारी दिनुभयो । यही अवस्था धनुषा जिल्लाका अधिकांश पालिकाहरुमा रहेको परियोजनाका कृषि अधिकृत कालीकान्त मिश्रले जानकारी दिनुभयो ।
कृषि उत्पादन बढाउनका लागि माटोको उर्वरा शक्ति बढाउनको विकल्प छैन । यसका लागि प्रकृतिक मलको अधिक प्रयोग गर्नका लागि किसानहरुलाई सुझाव दिने काम भएको कृषि प्राविधिक शाहले जानकारी दिनुभयो । यसका साथै माटोमा पोटास राख्ने काम गर्नु पर्ने सुझाव दिएपनि पोटास महगो भएकाले सवै किसानले किन्न नसक्ने भएकाले यसमा तीनै तहका सरकारले अनुदान दिनु पर्ने अवस्था रहेको कृषि प्राविधिकहरुले जानकारी दिनु भएको छ ।
माटोमा छारिएपना वा अम्लिएपना बढी पाइयो भने पनि कृषि उत्पादनका लागि ठीक नभएको र दुवैको मात्रा सन्तुलित हुन जरुरी रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना समन्वय ईकाइ धनुषाका प्रमुख यूगल किशोर तिवारीले जानकारी दिनुभयो । माटोमा चाहिने तत्व सन्तुलित रुपमा नभेटिएको खण्डमा माटोको उर्वरा शक्तिमा ह्रास आउनुका साथै कृषि बालीमा रोगव्याधि तथा किराले चाडै आक्रमण गरेर बालीमा क्षति गर्ने कृषि अधिकृत मिश्रले जानकारी दिनुभयो ।
यसका साथै किसानलाई खेतमा ढैचा तथा मुङ्गको खेती गरेर माटो उर्वरा शक्ति बढाउन सकिने बरिष्ठ कृषि विकास अधिकृत एवं खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना क्लष्टर ईकाई धनुषाका प्रमुख सुकेश्वर झाले जानकारी दिनुभयो । माटो परीक्षणका लागि आएका किसानहरुले समयमा मल खाद्य तथा माटोको पोषण बढाउनका लागि चाहिने पोटास नपाउने गरेका गुनाशो पनि गर्नु भएको छ ।
कृषि उत्पादनको दृष्टिकोणले अग्रणी जिल्लाको रुपमा रहेको धनुषा जिल्लाको माटोमा देखिएको समस्याले कृषि उत्पादनमा ह्रास आउने भएकाले माटोको उर्वरा शक्ति बढाउनका किसानलाई प्राविधिक सर सल्लाहका साथै समयमा मल खाद्य तथा अन्य तत्वहरु उपलब्ध गराउने तर्फ प्रदेश तथा स्थानीय तहले विषेश ध्यान दिनु आवश्यकता रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्