पूर्व निर्धारित समयमा बजेट प्रस्ताव गर्न अर्थ मन्त्रालयको आग्रह

काठमाडौँ । अर्थ मन्त्रालयले सिलिङभित्र रहेर पूर्व निर्धारित समयमा आगामी आर्थिक वर्षको बजेट प्रस्ताव गर्न मन्त्रालयहरूलाई आग्रह गरेको छ ।
आर्थिक वर्ष २०७८–७९ को बजेट निर्माणका आधार र मार्गदर्शनबारे सोमवार अर्थ मन्त्रालयमा आयोजित छलफल कार्यक्रममा अर्थ मन्त्रालयले आर्थिक पुनरुत्थान र रोजगारी सिर्जना, ठूला पूर्वाधार आयोजना कार्यान्वयनमा निरन्तरता जस्ता विषयलाई बजेट निर्माणको मुख्य आधारको रुपमा प्रस्तुत गरेको हो ।
त्यसै गरी अर्थ मन्त्रालयले कृषि क्षेत्रको विकास, सामाजिक विकासमा निरन्तर लगानी, क्षेत्रगत र प्रादेशिक सन्तुलन र दिगो विकास लक्ष्यलाई समेत बजेट निर्माणको मुख्य आधारका रुपमा राखेको छ ।
त्यसैगरी बजेट निर्माणका मार्गदर्शनहरूमा दीर्घकालीन नीति, आवधिक योजना, वार्षिक नीति तथा कार्यक्रम र बजेटका बीच अन्तर आबद्धता कायम गर्ने, अनिवार्य दायित्वमा पुग्दो रकम प्रस्ताव गर्ने, पूर्व सहमति दिइएका विषयमा दायित्व अनुमान गरी सिलिङभित्र विनियोजन प्रस्ताव गर्ने लगायतका विषय रहेका छन् ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा. कृष्णप्रसाद ओलीले बजेट निकासा गर्दा अर्थ मन्त्रालयले थप सरलीकृत प्रक्रिया अवलम्बन गर्न आवश्यक रहेको बताउनुभयो ।
मुख्य सचिव शंकरदास वैरागीले रचनात्मक छलफलबाट कार्यान्वयनमुखी बजेट निर्माणमा सहयोग पुग्ने बताउनुभयो ।
अर्थ सचिव शिशिरकुमार ढुङ्गानाले कार्यक्रमहरूको राम्रोसँग विश्लेषण गरी बजेट प्रस्ताव गर्न र सिलिङलाई प्रभावकारी बनाउन आग्रह गर्नुभयो ।
राजस्व सचिव रामशरण पुडासैनीले आवश्यकताका आधारमा बजेट बनाउनुपर्ने भन्दै राजस्व बढाउने कार्यक्रमलाई पनि ध्यान दिन जरुरी रहेको बताउनुभयो ।
अर्थमन्त्रीका आर्थिक सल्लाहकार डा. प्रकाशकुमार श्रेष्ठले एकातिर बजेट खर्च भएन भन्ने र अर्कोतिर स्रोत पुगेन भन्ने जस्ता विरोधाभास हटाउने गरी काम गर्नुपर्ने बताउनुभयो ।
अर्थ मन्त्रालय बजेट तथा कार्यक्रम महाशाखा प्रमुख धनीराम शर्माले चालु आर्थिक वर्षको कार्य सम्पादनलाई आधार बनाउनु पर्नेमा जोड दिँदै मितव्ययिता सम्बन्धी मापदण्ड पालना गर्न आवश्यक रहेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्