स्थानीय सडक सुधार कार्यक्रम : बागमती प्रदेशमा ४ वटा स्थानीय तहसँग सम्झौता

मकवानपुर । प्रदेशको राजधानीसँग हालसम्म नजोडिएका स्थानीय तहको केन्द्रलाई सडक सञ्जालसँग जोड्ने सडक निर्माण तथा सुधार कार्यक्रम बागमती प्रदेशमा पनि सुरु भएको छ । स्थानीय सडक सुधार कार्यक्रम अन्तरगत बागमती प्रदेशका ४ वटा स्थानीय तहसँग आइतबार सडक निर्माणका लागि सम्झौता भएको छ ।
स्थानीय पूर्वाधार विकास आयोजना कार्यालयका अनुसार बागमती प्रदेशमा ६० वटा स्थानीय तहहरूले यो कार्यक्रमका लागि माग पठाएका मध्ये आइतबार ४ वटासँग सम्झौता भएको हो । परियोजनाका लागि सङ्घ, प्रदेश र स्थानीय तहले लागत साझेदारी गर्ने स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय हेटौँडाका प्रमुख मोहन चापागाईँले जानकारी दिनुभयो ।
आइतबार धादिङको धुनिबेसी नगरपालिका, काभ्रेको खानिखोला गाउँपालिका, सिन्धुलीको तीनपाटन गाउँपालिका र रामेछापको दोरम्बा गाउँपालिकासँग हेटौडा स्थित भौतिक पूर्वाधार विकास मन्त्रालयमा सम्झौता भएको हो । कार्यक्रमको आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरका दुई सय १० स्थानीय तहमा एकसाथ शुभारम्भ गर्नुभएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट देशभर यो कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो ।
कार्यक्रमको शुभारम्भका अवसरमा हेटौँडामा आयोजित कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाँलले सरकारले जनताका लागि उत्कृष्ट काम गरेको दाबी गर्नुभयो । उहाँले स्थानीय तहको केन्द्रबाट प्रदेशको राजधानीसम्म जोड्ने सडक रणनीतिक महत्त्वको हुने बताउनुभयो । कार्यक्रममा बोल्दै मन्त्री फुयाँलले जनताको जायज माग पूरा गर्न सरकार तयार रहेको बताउनुभयो ।
देशभरका ३ सय ९२ वटा पक्की सडकको माग भए पनि ६१ वटा स्थानीय तहमा अझै सडक पहुँच नपुगेको कार्यालय प्रमुख चापागाईँले जानकारी दिनुभयो । कार्यक्रम मार्फत चालु आर्थिक वर्षको अन्तसम्ममा २० वटा सडकको निर्माण कार्य सुरु गर्ने लक्ष्य लिइएको छ ।
पाँच बर्ष भित्र ४ हजार किलोमिटर सडक निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको कार्यक्रममा सडक पुल सहित करिब २ खर्ब रुपैयाँ बजेट अनुमान गरिएको छ । चालु आर्थिक वर्षमा छनौट तथा समझदारी पत्रमा हस्ताक्षर भएका योजनाहरूको क्रमशः विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने र कम लम्बाई भएका आयोजनाहरूको निर्माण कार्य यसै वर्षबाट सुरु गर्ने कार्यालय प्रमुख चापागाईँले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्