तपाईँ सुन्दै हुनुहुन्छः

लोकतन्त्र रक्षाको लागि पत्रकारहरूको भूमिका अपरिहार्य : अध्यक्ष आचार्य

सप्तरी । नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले लोकतन्त्र रक्षाको लागि पत्रकारहरूको भूमिका अपरिहार्य रहेको बताउनुभएको छ ।
सप्तरीमा आइतबार आयोजित जिम्मेवार तथा उत्तरदायी पत्रकारिता, सुरक्षित र व्यावसायिक पत्रकारिताका लागि महासङ्घको भूमिका विषयक अन्तरसम्बाद कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो  ।
कार्यक्रममा बोल्दै अध्यक्ष आचार्यले प्रेस स्वतन्त्रताको लागि लोकतन्त्रको सुरक्षा अपरिहार्य हुने बताउनुभयो । लोकतन्त्र माथि प्रहार हुँदा पत्रकार महासङ्घले खेलेको भूमिका बारे चर्चा गर्दै अध्यक्ष आचार्यले देशलाई सङ्कट पर्दा महासङ्घ र पत्रकारहरूले राष्ट्रका लागि दिएको योगदानले मुलुकलाई दिशानिर्देश गर्न सफल भएको बताउनुभयो ।
प्रेस स्वतन्त्रताको ग्यारेन्टी भए मात्र लोकतन्त्र जीवित रहन्छ, अध्यक्ष आचार्यले भन्नुभयो, राज्यले प्रेस स्वतन्त्रता माथि हस्तक्षेप गर्ने पटक पटकको प्रयास गर्दा असफल पारी अप्ठेरोबाट निकास दियौ । समानुपातिक विज्ञापन ऐन, पत्रकारितालाई  राष्ट्रिय सेवामूलक उद्योग र  श्रमजीवी पत्रकारहरूका लागि न्यूनतम पारिश्रमिक ऐन, आम सञ्चार प्रतिष्ठान जस्ता पत्रकार र सञ्चार क्षेत्रको लागि उल्लेखनीय कार्य आफ्नो नेतृत्वको पालमा गरेको बताउँदै कार्यक्रमको प्रमुख अतिथि अध्यक्ष आचार्यले अझै पत्रकारको पेशागत सुरक्षा र सञ्चार क्षेत्रको विकासका लागि पत्रकारहरूले जिम्मेवार र उत्तरदायी भएर कलम चलाउनु पर्नेमा जोड दिनुभयो ।
अध्यक्ष आचार्यले पत्रकारको पक्षमा बाध्यकारी कानुन निर्माण भएपनी कार्यान्वयनमा ल्याउन पत्रकारहरूलाई नै जिम्मेवार र उत्तरदायी भएर काम गर्न आग्रह गर्नुभयो ।
नेपाल पत्रकार महासङ्घका केन्द्रिय कोषाध्यक्ष राजेश मिश्राले पत्रकारहरू जिम्मेवार र उत्तरदायी बन्नुपर्नेमा जोड दिनुभयो । सधैँ अरूलाई प्रश्न उठाउने पत्रकारहरू पेशागत मर्यादा भन्दा बाहिर जाँदा पत्रकार माथि नै प्रश्न उठ्ने गरेकोले पत्रकारकारले जिम्मेवारीपूर्वक काम गर्नुपर्ने उहाँको भनाई थियो ।
प्रेस काउन्सिल प्रदेश २ का अध्यक्ष शिवहरी भट्टराईले सुरक्षित र व्यावसायिक पत्रकारिताले मात्र सञ्चार क्षेत्र र सञ्चारकर्मीहरूको पेशागत सुनिश्चितता हुने बताउनुभयो । आफू पनि श्रमजीवी पत्रकार भएरै काम गरेको बताउँदै अध्यक्ष भट्टराईले राज्यबाट उपलब्ध सुविधाका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नेपाल पत्रकार महासङ्घ सप्तरीका अध्यक्ष जितेन्द्र खड्गाको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन सचिव जितेन्द्र झाले गर्नुभएको थियो भने केन्द्रिय सदस्य एवम् मधेसी समितिका संयोजक अबधेश झाले कार्यक्रमको औचित्यता बारे प्रकाश पार्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button