मुलुकलाई सही रुपमा अगाडि बढाउने तयारीमा कांग्रेस जुटेको देउवाको भनाई

वीरगंज । नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले मुलुकलाई सही रुपमा अगाडि बढाउने तयारीमा कांग्रेस जुटेको बताउनु भएको छ ।
नेपाली कांग्रेस केन्द्रिय खेलकुद विभागको आयोजनामा बाराको पचरौता नगरपालिकामा आज देखी शुरु भएको खुमबहादुर खड्का स्मृति अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै देउवाले कम्युनिष्टहरु लोकतन्त्र र संविधान समाप्त पार्ने खेलमा लागेको आरोप लगाउनुभयो ।
पूर्व प्रधानमन्त्री समेत रहनु भएका कांग्रेस सभापति देउवाले नेपाली कांग्रेस अहिले आफ्नो महाधिवेशन तर्फ केन्द्रित रहेको बताउँदै पार्टी भित्रका कमी कमजोरीलाई सुधार्दै सशक्त ढङ्गबाट कांग्रेस अगाडि बढ्ने बताउनुभयो ।
उहाँले किसान, आदिवासी, जनजाति, दलित, पीडित जनताको पार्टीको रुपमा कांग्रेस रहेको हुँदा महाधिवेशन पछि पार्टी एक ढिक्का भई निर्वाचनमा होमिने र पूर्ण बहुमत समेत प्राप्त गर्ने विश्वास व्यक्त गर्नु भयो ।
नेपाली कांग्रेस खेलकुद विभागका केन्द्रिय सदस्य एवम् कार्यक्रम संयोजक मणिभुषण यादवको सभापतित्वमा सम्पन्न कार्यक्रममा काँग्रेसका खेलकुद विभाग प्रमुख एवं केन्द्रिय सदस्य मोहन बहादुर बस्नेत, पूर्व मन्त्री फरमुल्लाह मन्सुर, उमाकान्त चौधरी, पूर्व सांसद शोभाकर पराजुली लगायतका नेताहरूले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
वक्ताहरूले देशलाई अन्तर्राष्ट्रिय रुपमा चिनाउन खेलकुदको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै खेलाडीहरूलाई राज्यले जागिर सहित प्रोत्साहन भत्ता उपलब्ध गराउनु पर्ने कुरामा जोड दिएका थिए ।
प्रतियोगितामा भाग लिन नेपाल र भारतबाट ख्याति प्राप्त ४ दर्जन भन्दा बढी कुस्तीवाजहरुको सहभागिता रहेको छ । प्रतियोगितामा ४ जोडी महिला खेलाडी समेत रहेका छन् । आजको खेलमा भारत राजस्थानका विक्की पहलवानलाई नेपाल नवलपरासीका देवा थापाले पराजित गरेका थिए ।
प्रतियोगितामा नेपालका अन्तर्राष्ट्रिय कुस्तीवाज केशव दास, दिल्लीका रोहित पहलवान, अयोध्याका राजेश दास, बनारसका गामा पहलवान, नवलपरासीका ज्ञानेन्द्र थापा लगायत हरियाना, दिल्ली, पटनाबाट खेलाडीहरू बारा आएका छन् । उद्घाटन कार्यक्रमको सहजीकरण निलिमा पौडेलले गर्नु भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्