तपाईँ सुन्दै हुनुहुन्छः

‘सुकुम्वासी तथा भूमिहीनको लागत सङ्कलनमा सबैले सहयोग गर्नु पर्ने’

टीकापुर कैलाली । भूमि सम्बन्धी समस्या समाधान आयोगका सुदूरपश्चिम अध्यक्ष अगस्त अधिकारीले सुकुम्वासी तथा भूमिहीनको लागत सङ्कलनमा सबैले सहयोग गर्नु पर्ने बताउनु भएको छ ।
टीकापुर बहुमुखी क्याम्पसको आयोजनामा क्याम्पसको अतिक्रमित जग्गा खाली गराउने विषयमा टीकापुरमा भएको सर्वदलीय सर्वपक्षीय छलफलमा उहाँले सुकुम्वासी भनी विभिन्न स्थानमा बसेका नागरिकहरूको लागत सङ्कलन फारम भर्दा नै आधा समस्या समाधान हुने बताउनुभयो ।
सुकुम्वासीको छानबिन गर्न आयोग बनेको भन्दै त्यसमा सहयोग गर्न सबै राजनीतिक दललाई अध्यक्ष अधिकारीले आग्रह समेत गर्नुभयो ।
टीकापुर नगरपालिकाका नगरप्रमुख तपेन्द्रबहादुर रावलले टीकापुर नगरपालिकाले गणकहरूको छनोट गरी सुकुम्वासी र ऐलानी जग्गाको लगत सङ्कलन कार्यको सुरुवात गरिरहेको बताउनुभयो ।
यो नगरपालिकाले अबको ३५ दिनभित्र गरिसक्ने र त्यसपछि नगरपालिका भित्र रहेको सुकुम्वासी तथा भूमिहीनको समस्या समाधानमा सहयोग पुग्ने बताउनुभयो ।
संविधानसभा सदस्य हरीलाल ज्ञवालीले अहिलेको भूमि सम्बन्धी समस्या समाधान आयोगले सही रुपमा तथ्याङ्क सङ्कलन गर्न सकेको खण्डमा नै यो समस्या आधा समाधान हुने र त्यसमा सबैले सहयोग गर्नु पर्ने बताउनुभयो ।
पूर्व सांसद गङ्गाबहादुर कुवरले यो ठाउँमा द्वन्द्व सिर्जना नहुने गरी क्याम्पसको जग्गा खाली गरिनु पर्ने बताउँदै सही सुकुम्वासी र भूमिहीनलाई पनि राज्यले बसोबासको व्यवस्था मिलाउनु पर्ने बताउनुभयो ।
टीकापुर बहुमुखी क्याम्पसको ३ सय ८० विगाह जमिन मध्ये ३ सय विगाह जमिन सुकुम्वासीका काममा अतिक्रमण गरिएको छ । अहिले त्यो जग्गामा करिब ४५ सय घरधुरी बसोबास गरिरहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button