तपाईँ सुन्दै हुनुहुन्छः

जनकपुरधामबाट परिक्रमाका सहभागीहरू कल्याणेश्वर तर्फ प्रस्थान

जनकपुरधाम । मिथिलाञ्चलको सबैभन्दा ठूलो तथा लामो १५ दिने मध्यमा मिथिला परिक्रमाका तीर्थयात्रीहरू आज भारतको विहार राज्यको मधुबन्नी जिल्लाको कल्याणेश्वर स्थानका लागि आज बिहान प्रस्थान गरेको छ ।
धनुषाको ठेराकचुरीमा रहेको मिथिला विहारीको मंन्दिरवाट हिजो मिथिला विहारी अर्थात् भगवान् राम तथा जनकपुरधामको अग्निकुण्डवाट किशोरी अर्थात् माता जानकीको डोला उठेर जनकपुरधामको हनुमानगढीमा राति विश्राम गरेर आज कल्याणेश्वर स्थानका लागि प्रस्थान गरेको छ ।
फाल्गुण शुक्लपक्ष प्रतिपदाबाट शुरु भएर पूर्णिमासम्म चल्ने परिक्रमामा धनुषा, महोत्तरी र भारत विहारका १५ ऐतिहासिक एवं धार्मिक ठाउँहरूमा रात्रि विश्राम गर्दै परिक्रममा सहभागीहरू नेपाल भारतको १ सय ३३ किलोमिटरको दूरी तय गर्ने चलन रहेको छ ।
धनुषा को ठेराकचुरीमा रहेको मिथिला विहारी मन्दिरबाट बाजागाजा तथा सांस्कृतिक झाँकी कीर्तनसहित भगवान् रामको डोला अग्निकुण्डवाट उठेको माता जानकीको डोलासँगै हजारौँ भक्तजनहरू श्रीसीतारामको धुन सहित प्रस्थान गरेको छ ।
परिक्रममा सहभागीहरू खाली खुटा भजन कीर्तन सहित तय गर्ने गरेका छन् । कतिपयले खाने ओढ्ने ओछ्याउने सहितको सामानहरू आफै ठाउँकोमा बोकेर हिँड्ने गरेकाले यसलाई कठोर पदयात्राको रुपमा पनि लिइन्छ ।
१५ दिने परिक्रमा विहारको कल्यानेश्वर महादेव स्थान, फूलहरमा रहेको गिरिजा स्थान, करुण, विसौल, महोत्तरीको मठिहानी, जलेश्वर, मडैई, धुव्रकुण्ड, कञ्चनवन, पर्वता, धनुषाको धनुषाधाम, सतोखर, औरही हुँदै पुनः भारतको कल्याणेश्वर स्थान भएर जनकपुरधाम आउने कार्यक्रम रहेको छ ।
जनकपुरधाममा रात्रि विश्रामपछि जनकपुरधामको अन्तगृह परिक्रमा गरी सहभागीहरू आ आफ्नो घर फर्किने र भोलि पल्ट होली खेल्ने चलन तराई मधेशमा रहेको छ ।
नेपाल भारतको साझा धार्मिक एवं सांस्कृतिक महत्त्वको परिक्रममा सहभागी हुनाले विभिन्न प्रकारका रोग, दुःख, कष्ट कलेशबाट मुक्ति हुनुका साथै विशेष पुण्य प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।
खास गरेर यसमा साधुसन्त, महन्थ, योगी सन्यासी तथा गृहस्थ परिवारका व्यक्तिहरू पनि सहभागी हुने गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button