तपाईँ सुन्दै हुनुहुन्छः

गाउँ–गाउँमा यातायात, सङ्कटमा खच्चर व्यवसाय

म्याग्दी । जिल्लाको ग्रामीण भेगमा ढुवानीको प्रमुख साधन मानिएको खच्चर व्यवसाय बिस्तारै धरापमा पर्दै गएको छ । भौगोलिक हिसाबले दुर्गम जिल्लाको रुपमा चिनिएको म्याग्दीमा गाउँ गाउँमा मोटर बाटोको कारण यातायातको सुविधा भएपछि खच्चर व्यवसाय समस्यामा परेको हो ।
कुनै समय म्याग्दी सदरमुकाम बेनी र म्याग्दीको दोस्रो ठुलो बजारको रुपमा रहेको दरबाङ बजारबाट गाउँ गाउँमा सामानहरू ढुवानी गर्न खच्चर मात्र प्रयोग हुन्थे ।
“पहिला पहिला बेनी, दरबाङबाट भारी बोकिन्थ्यो तर अहिले गाउँमा मोटरबाटो आइसके पछि ढुवानीसमेत पाँउदैन, सबै ट्याक्टर, जिपले नै घरघरमा सामान पुराउँछ । यसले गर्दा खच्चड पाल्न समेत धौ धौ भएको छ”, धौवलागिरी गाउँपालिका–२ लुलाङका खच्चड व्यवसायी लोकेश श्रीपालीले गुनासो गर्नुभयो ।
अहिले गाउँमा नै घाँस दाउरा काट्ने त्यही खच्चडलाई बोकाउने, मोटर बाटो नपुगेको ठाउँमा घर बनाउन लागेको छ भने ढुङ्गा बोकाउने काम गरिरहेको उहाँले बताउनु भयो ।
सस्तो र छिटो हुने भए पछि गाउँका व्यवसायीहरू समेत यातायातका साधन प्रति आकर्षित हुन थालेको स्थानीयहरू बताउँछन् ।  ‘खच्चर बिक्री गर्न खोज्दा समेत बिक्री हुँदैन, कहाँ जाने के गर्ने यतिन्जेल पालेको खच्चरको माया लाग्छ । गाउँमा नै घाँस दाउरा बोकाउने काम गर्ने गरेका छौँ’ अर्का खच्चर व्यवसायी अमृत श्रीपालीले भन्नु भयो ।
मुलुकमा सङ्घीय व्यवस्था लागू भएसँगै अस्तित्वमा आएका स्थानीय सरकारहरूको प्रमुख उद्देश्य नै अहिले गाउँ गाउँमा मोटर बाटो पु¥याउनु हो ।
म्याग्दी जिल्लाको विकट क्षेत्र मानिने म्याग्दीमा धवलागिरी गाउँपालिकाको गुर्जाबाहेक अन्य स्थानहरूमा घुमाउरो बाटो बनाएरै भए पनि मोटर बाटो पुगिसकेको छ ।
जसका कारण गाउँमा यातायातकै साधनमार्फत सामान छिटो र सुरक्षित तवरले पुग्न थालेको छ । साधनहरू सुरक्षित र छिटो आउने भएकाले आफूहरूले पनि यातायातको साधनको प्रयोग गरेको गाउँलेहरू बताउँछन् । बिक्रीसमेत नहुने भएकोले खच्चरको व्यवस्थापनमा समस्या भइरहेको व्यवसायीहरूको गुनासो छ । पहिलोका तुलनामा जिल्लाभित्र अहिले खच्चरको सङ्ख्या समेत तेब्बर घटेको बताइन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button