जीवहरूको अध्ययन, अनुसन्धानका लागि प्रदेश सरकार सकारात्मक : मन्त्री कार्की

विराटनगर । प्रदेश १ का आन्तरिक मामिला तथा कानुन एवं सामाजिक विकास मन्त्री हिक्मत कुमार कार्कीले प्राणी लगायतका जीवहरूको अध्ययन, अनुसन्धानका लागि प्रदेश सरकार सकारात्मक रहेको बताउनु भएको छ ।
उहाँले यसका लागि बजेटको प्रबन्ध गर्ने समेत बताउनुभयो ।
नेपाल जुलोजिकल सोसाइटी प्रदेश १ ले आज विराटनगरमा आयोजना गरेको गोष्ठीमा मन्त्री कार्कीले प्राणी शास्त्रीले अनुसन्धान गरेका प्राणी लगायतका जीवहरूको प्रतिवेदनहरू आफूमा मात्र सीमित नराखी समाजसहित अन्य क्षेत्रमा प्रसार गर्न आग्रह गर्नुभयो ।
उहाँले अनुसन्धानका लागि प्रदेश सरकारले नीति तथा कार्यक्रम तर्जुमा गरी सोही अनुसार अघि बढ्ने बताउनुभयो ।
मन्त्री कार्कीले प्राध्यापकहरूलाई आफ्नो क्षेत्रमा अब्बल हुनका लागि अनुसन्धानमा ध्यान केन्द्रित गर्न आग्रह गर्नुभयो ।
उहाँले प्रदेश सरकारले ‘ओपन जु’को अवधारणा अघि सारेको बताउनुभयो । ओपन जुका लागि स्थान छनौटको लागि तयारीको काम भइरहेको जानकारी दिनुभयो । मन्त्री कार्कीले भन्नुभयो, ‘झापा, मोरङ, सुनसरी र उदयपुर मध्ये एक जिल्ला छनौट गरिने छ ।’
कार्यक्रममा डा.आशिषकुमार घोष, प्रा.डा. राधाकृष्ण खेरवार, योगेन्द्रनारायण दास, प्रा.डा. रामबहादुर थापा, प्रा.डा. कालुराम राई, शुशिलकुमार झा, डा. भरतराज सुब्बा, डा. शिवनारायण यादव, राजेन्द्रप्रसाद यादव, मीनाकुमारी देवलाई मन्त्री कार्कीले सम्मानित गर्नुभयो ।
प्रदेश स्तरीय गोष्ठीमा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा.यादवराज कोइराला, प्रा.डा. रामबहादुर थापाले मन्तव्य व्यक्त गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्