तपाईँ सुन्दै हुनुहुन्छः

‘दुधमा आत्मनिर्भर हुन धेरै प्रयास आवश्यक’

file photo

पोखरा । नेपाल दूधको उत्पादनमा आत्मनिर्भरतातर्फ अघि बढेको भए पनि दुधमा आत्मनिर्भर हुन अझ धेरै प्रयासको आवश्यकता रहेको दुग्ध व्यवसायीहरूले बताउनुभएको छ ।

देशभरका दुग्ध प्रशोधन उद्योगको छाता संस्था डेरी उद्योग सङ्घको पोखरामा सम्पन्न १२ औँ वार्षिक साधारण सभामा हालको दूधको उपलब्धता प्रतिव्यक्ति ७८ लिटर प्रतिवर्ष रहेको जानकारी दिइयो ।

दूधमा आत्मनिर्भर हुनको लागि विश्व खाद्य तथा कृषि सङ्गठनको सिफारिसअनुसार दैनिक २५२ मिलि प्रतिव्यक्ति वा वार्षिक ९१ लिटर प्रतिव्यक्ति आवश्यक पर्छ । हाल नेपालमा प्रतिव्यक्ति प्रतिवर्ष १३ लिटर दूध अपुग रहेको संघका केन्द्रीय अध्यक्ष राजकुमार दाहालले बताउनुभयो ।

मुलुकमा हाल दूधको उत्पादन २२ लाख ६८ मेट्रिक टन छ । यसमा गाईको दूधको हिस्सा लगभग ३० देखि ३५ प्रतिशत र भैँसीको ६५ प्रतिशत छ । दूध उत्पादन वृद्धि गत वर्षको तुलनामा करिब चार प्रतिशतको रहेको सङ्घले जनाएको छ ।

नेपालका निजी क्षेत्रको डेरी उद्योगमा लगानी हाल ३० अर्बको हाराहारी पुगेको छ भने यो क्षेत्रले ३० हजार रोजगारी सिर्जना गरेको छ । देशभर दुग्ध उत्पादन व्यवसायमा पाँच लाख कृषक परिवार आबद्ध छन् ।

दुग्ध क्षेत्रको मात्र कूल राष्ट्रिय उत्पादनमा नौ प्रतिशत योगदान रहेको र दैनिक पाँच करोड तथा वार्षिक १२ अर्ब रुपैयाँ शहरबाट गाउँतर्फ नगद प्रवाह भइरहेका कारण दुग्ध उत्पादन व्यवसाय ग्रामीण स्वरोजगारको मुख्य अङ्ग बनेको छ ।

नेपालमा भारत तथा तेस्रो मुलुकबाट करिब दुई अर्बभन्दा बढीको दूध र दुग्धजन्य पदार्थ आयात भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button