तपाईँ सुन्दै हुनुहुन्छः

सूर्य विनायकमा ३२ करोडको लगानीमा तरकारी बजार सञ्चालन 

भक्तपुर । भक्तपुरको सूर्य विनायकमा रु.३२ करोडको लगानीमा ठुलो आधुनिक कृषि बजार (तरकारी बजार) सञ्चालनमा आएको छ ।
सूर्य विनायक हरित कृषि थोक बजार नामक कृषि बजार शिबरात्रीदेखि सञ्चालनमा आएको हो । भक्तपुरको सूर्य विनायक नगरपालिका वडा नं ८ आदर्श सिपाडोल क्षेत्र सूर्य विनायकमा बजार खुलेको हो ।
२०७५ सालको फागुनदेखि निर्माणको तयारी सुरु गरिएको थियो । निर्माण सुरु भएको दुई वर्षपछि अर्थात् यही फागुन महिनाबाट बजार सञ्चालनमा ल्याइएको हो ।
अरनिको राजमार्ग अन्तर्गत आदर्श बस बिसौनीबाट दक्षिणको ३५ रोपनीको क्षेत्रको जग्गामा अहिले बजार बुकिङको काम पनि भइरहेको छ ।
कृषि बजार आधुनिक रुपमा बनाइएको छ । कृषि बजार भित्रसम्म तरकारी पुर्‍याउन मोटर पुग्ने गरी व्यवस्था मिलाइएको छ ।
सूर्य विनायक हरित कृषि थोक बजारका अध्यक्ष राकेश प्रसाईँले ३२ करोडको लगानीमा नेपालमै अहिलेसम्मको सबैभन्दा ठुलो व्यवस्थित कृषि बजार सञ्चालनमा ल्याएको जानकारी दिनुभयो ।
बजारभित्र साढे ७ सय स्टलहरू रहेको छन् । बजार प्रत्येक दिन बिहान दुई बजेदेखि बेलुकी आठ बजेमा खुल्ला रहने जनाइएको छ ।
बजारको मुख्य उद्देश्य होलसेलको रुपमा स्थापना गर्ने भएता पनि स्थानीयको लागि खुद्रा विक्री पनि गर्ने जनाइएको छ ।
काठमाडौँको कालीमाटी बजार बस्तीभित्र भएको कारण त्यहाँ गाडी भित्र लान बेलुकीसम्म कुर्नुपर्ने भएकोले तरकारी खराब हुने सम्भावना धेरै भएको तर यहाँ त्यस्तो समस्या नआउने बताइएको छ ।
यो पूर्वी नाकाबाट आउने सबै तरकारीहरू यही पुर्‍याएर यहीबाट काठमाडौँलगायतका ठाउँंहरुमा पुर्‍याउन सकिने जनाइएको छ । जग्गा १५ वर्षका लागि लिजमा लिइएको जनाइएको छ ।
कृषकहरूको बाहुल्यता रहेको जिल्लामा अहिलेसम्म व्यवस्थित कृषि बजार बन्न सकेको थिएन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button