तपाईँ सुन्दै हुनुहुन्छः

स्थानीय तह सहिद स्मृति गोल्डकपः आर्मी विजयी

मकवानपुर । हेटौँडामा बिहीबारबाट सुरु स्थानीय तह सहिद स्मृति गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा आजको खेल नेपाल आर्मीले जितेको छ । हेटौँडाको वन विज्ञान अध्ययन संस्थान (फरेष्ट्री) खेल मैदानमा शुक्रवार आर्मीले जावलाखेल यूथ क्लबलाई टाई ब्रेकरमा ४–२ ले पराजित गरेको हो ।

मकवानपुर जिल्ला फुटबल सङ्घको आयोजनामा जारी प्रतियोगितामा निर्धारित समय गोलरहित बराबरी भएपछि टाई ब्रेकरमा जाउलाखेललाई पराजित गर्दै आर्मी अन्तिम चारमा प्रवेश गरेको छ ।

ट्राई ब्रेकरमा आर्मीका गोलरक्षक विवश चौधरीले जावलाखेलका राजेन्द्र रावल र विदेशी खेलाडी भिडाल लुइसको प्रहारलाई रोक्दै अन्तिम चारमा स्थान बनाएका हुन् । जावलाखेलका फोडे फोफोना र रूपबहादुर लामाको प्रहार मात्रै गोल भएको थियो भने, आर्मीका दीपक गुरुङ, विकास तामाङ, टङ्क बस्नेत र सेसेहाङ आङ्देम्बेको प्रहार गोलमा परिणत भएको थियो ।

दुई वटा प्रहार बचाएका आर्मीका गोलरक्षक चौधरी नै खेलको म्यान अफ द म्याच भए । उनले नगद १० हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गरे ।

जारी प्रतियोगितामा शनिबार नेपाल पुलिस क्लब र सङ्कटा क्लबबिच प्रतिस्पर्धा हुने छ ।

प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले बुलेट बाइक प्राप्त गर्नेछन् भने विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकले जनही नगद २५ हजार रुपैयाँ पाउनेछन् ।

मकवानपुरका स्थानीय तहको प्रायोजनमा सञ्चालन भइरहेको प्रतियोगितामा १० वटा क्लबको सहभागिता रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button