तपाईँ सुन्दै हुनुहुन्छः

‘पत्रकारिता क्षेत्रलाई थप मर्यादित बनाउनुपर्ने’

विराटनगर । प्रदेश न १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले पत्रकारिता क्षेत्रलाई थप मर्यादित बनाउनुपर्ने बताउनु भएको छ ।

विराटनगरमा आज आयोजित षष्टिका बस्नेत सूचना अधिकार पुरस्कार सम्मान कार्यक्रममा बोल्नुहुँदै उहाँले देश र जनतालाई केन्द्रमा राखेर सत्य तथ्य समाचार समप्रेसण गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले पत्रकारकै कारण नेपालमा ठुलठुला आन्दोलन सफल भएको चर्चा गर्दै अहिलेको अवस्थामा पत्रकारहरूले आफूलाई थप जिम्मेवार बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । ्

नेपाल पत्रकार महासङ्घका केन्द्रिय अध्यक्ष गोविन्द आचार्यले पत्रकार क्षेत्रलाई व्यवसायी तथा मर्यादित बनाउन महासङ्घले उल्लेखनीय रुपमा काम गर्दै आएको बताउनुभयो ।

षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कारबाट यसबर्ष नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष धमेन्द्र झा तथा झापाका पत्रकार मोहनकाजी न्यौपानेलाई पुरस्कृत गरिएको छ ।

पुरस्कारको राशि क्रमशः ५० हजार र १५  हजार रुपैयाँ रहेको छ ।

विराटनगर निवासी केदारबहादुर बस्नेतले आफ्नो धर्मपत्नी स्वर्गीय षष्टिका बस्नेतको नाममा सो पुरस्कार स्थापना गर्नु भएको हो ।

विगत चार वर्षदेखि नेपाल पत्रकार महासङ्घ मोरङ शाखाको समन्वयमा सूचनाको अधिकारमा कलम चलाउने देशभरका दुई जना पत्रकारलाई छनौट गरी सो पुरस्कार वितरण  गर्दै आएको छ ।

कार्यक्रममा प्रदेश सभासद् जयराम यादव, पुरस्कृत व्यक्तित्व धमेन्द्र झा, नेपाल पत्रकार महासङ्घका प्रदेश न १ का अध्यक्ष विक्रम लुइँटेल, प्रादेशिक सञ्चार प्रतिष्ठानका कार्यकारी निर्देशक यज्ञ शर्मा, नेपाल पत्रकार महासङ्घ मोरङ अध्यक्ष बन्धु पोखरेल तथा उपाध्यक्ष कुमोद अधिकारीले पत्रकारको हकहितका विषयमा बोल्नु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button