राष्ट्रिय संवाद कार्यक्रम सम्पन्न
काठमाडौँ । कोरोनाका कारण उद्यम व्यवसाय क्षेत्रमा परेको प्रभाव र समाधानको लागि रणनीतिक कार्य ढाँचा निर्माण गर्ने उद्देश्यले सरकारले सरोकार भएकाहरूको राष्ट्रिय संवाद कार्यक्रम सम्पन्न गरेको छ ।
महामारीले उद्यम व्यवसाय क्षेत्रमा पुर्याएको क्षतिबाट व्यवसायहरूलाई पुनः कसरी पूर्ववत् अवस्थामा सामान्यीकरण गर्न सकिन्छ र त्यसका लागि सरकार, निजी क्षेत्र, विकास साझेदारहरू र अन्य सरोकारवालाको कस्तो भूमिका हुनुपर्छ भन्ने सन्दर्भमा संवाद कार्यक्रम केन्द्रित रहेको थियो ।
संवादमा लघु, घरेलु, साना र मझौला उद्योगहरूको पुनरुत्थान, पर्यटन क्षेत्रको पुनर्स्थापना तथा सुधारका क्षेत्रहरू पहिचान गर्न, सुरुवाती व्यवसाय र नवप्रवर्तनमा युवाहरूको सशक्तीकरणका लागि निश्चित कार्यक्रम ल्याउन र महिला उद्यमशीलता एवं रोजगारी अभिवृद्धिका सम्बन्धमा विभिन्न नीतिगत व्यवस्थाहरू गर्ने लगायतका उपायहरू अवलम्बन गर्न सम्बन्धित क्षेत्रका उद्यमी व्यवसायीहरूले सुझाव दिनुभएको थियो ।
छलफलको पहिलो सत्रमा अर्थशास्त्री डा. विश्व पौडेलले नेपालको व्यवसाय क्षेत्रमा कोभिड–१९ को प्रभाव, सरकार र निजी क्षेत्रले गरेका कामहरू र त्यसको प्रभावकारिता सन्दर्भमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने बेलायती दूतावासका निजी क्षेत्र विकास सल्लाहकार रवर्ट क्लार्कले बेलायत सरकार र अन्य केही मुलुकहरूले कोभिड–१९ को महामारीबाट व्यवसाय क्षेत्रमा परेको असर न्यूनीकरण गर्न अपनाएका रणनीतिक आर्थिक तथा अन्य उपायहरूको सन्दर्भमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
छलफल कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा सरोकार भएका मन्त्रालयका सचिव लगायत उच्चपदस्थ पदाधिकारीहरू, नेपाल राष्ट्र बैङ्क, नेपाल उद्योग वाणिज्य महासङ्घ, उद्योग परिसंघ, नेपाल चेम्बर अफ कर्मश, महिला उद्यमी महासङ्घ, साना तथा घरेलु उद्यमी महासङ्घ, नेपाल व्यवसाय पहल लगायतका सङ्घसंस्थाका पदाधिकारीको सहभागिता रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्