तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश प्रमुख डा. झाद्वारा नमूना माविमा अध्यापन

जनकपुरधाम । प्रदेश नंं २ का प्रमुख डा. राजेश झाले आज जनकपुरधामको ऐतिहासिक सरस्वती नमूना माध्यमिक विद्यालयमा पुगेर कक्षा १ का विद्यार्थीहरूलाई आधा घण्टासम्म पढाउनुभएको छ ।

प्रदेश प्रमुख झाले आज दिउँसो १ बजे विद्यालयमा पुगी प्रधानाध्यापक सत्यनारायण मण्डलसँग भेटेर विद्यार्थीहरूसँग भलाकुसारी गर्ने इच्छा जाहेर गरेपछि प्रअ मण्डलले कक्षासम्म लगेको जानकारी दिनुभयो ।

प्रदेश प्रमुख डा. झा करिब आधा घण्टासम्म विद्यार्थीहरूलाई नेपाली, गणित तथा अङ्ग्रेजी विषयमा पढाउनुभएको थियो । विद्यार्थीहरूमा सुरक्षा कर्मीलाई देखेपछि पर्न सक्ने मनोवैज्ञानिक प्रभावलाई दृष्टिगत गरी सामान्य रुपमा एक जना सादा पोसाकका अङ्गरक्षकसहित कक्षाकोठामा पुगेर प्रदेश प्रमुखले पढाउनुभएको थियो ।

विद्यार्थीहरू पनि रमाइलो गरेर क, ख, ग, १ २, ३ तथा ए, वि, सी, डी जस्ता विषयहरू पढेका थिए । जनकपुरधामको आधुनिक शिक्षाको क्षेत्रमा सरस्वती नमूना माध्यमिक विद्यालयको निक्कै ठूलो योगदान भएकाले नै यस विद्यालयमा पुगेर केही समय बिताएको प्रदेश प्रमुख डा. झाले बताउनुभयो ।

त्यस अवसरमा प्रदेश प्रमुख झाले विद्यालयको भौतिक अवस्थाका बारेमा पनि जानकारी लिनुभयो । जहानियाँ राणा शासनको अन्त्य भएपछि २००४ सालमा स्थापित सरस्वती नमूना माध्यमिक विद्यालयमा  देशमा विभिन्न क्षेत्रमा नेतृत्व गर्नुभएका व्यक्तिहरूले अध्ययन गर्नुभएको छ ।

गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव, वर्तमान उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधि, काठमाडौँ विश्व विद्यालयका संस्थापक उपकुलपति डा. सुरेश शर्मा, नेपाल राष्ट्र बैङ्कका गभर्नर सत्येन्द्रप्यारा श्रेष्ठसहितका हस्तीहरू यसै विद्यालयबाट पढेका हुनाले आफू विद्यालयमा आएको प्रदेश प्रमुख डा. झाले जानकारी दिनुभयो ।

अहिले विद्यालयको भौतिक अवस्था कमजोर देखिन्छ । जनकपुरधामका दाता परिवार रामस्वरुप राम साहले विद्यालयको स्थापनामा ठूलो योगदान दिनुभएको छ । ३ विघा १९ कट्ठा क्षेत्रफल रहेको विद्यालयमा अहिले ८ सय ५० विद्यार्थीहरू अध्ययनरत रहेका छन् । कक्षा १ देखि १२ सम्म पढाई हुने गरेको छ ।

ऐतिहासिक महत्त्वको विद्यालयका पुराना भवनहरू जीर्ण भएर भत्किन थालेका छन् । विद्यालयको जीर्ण भवनको पुनः निर्माणतर्फ विशेष ध्यान दिनुपर्ने अवस्थामा प्रदेश प्रमुखको भ्रमणले निक्कै ठूलो अर्थ राखेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button