तपाईँ सुन्दै हुनुहुन्छः

कचनकवलका सबै वडामा सरसफाइ सचेतना कार्यक्रम सम्पन्न

झापा । खुला दिसामुक्त जिल्ला घोषणापछि पूर्ण सरसफाइ अभियान सञ्चालन भइरहेको झापाको सुदूर दक्षिणी कचनकवल गाउँपालिकामा सरसफाइ सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

सरसफाइ तथा वातावरणको क्षेत्रमा काम गर्दै आएको क्लिन झापाको सहजीकरणमा कचनकवलको सात वटै वडामा छुट्टाछुट्टै रुपमा अन्तरक्रियात्मक सचेतना कार्यक्रम सम्पन्न भएको हो ।

क्लिन झापाले कोभिड १९ का कारण स्थगित भएको गत वर्षकै कार्यक्रमलाई यस वर्ष निरन्तरता दिएको संस्थाका सचिव रुद्रबहादुर न्यौपानेले बताउनुभयो ।

शुक्रवार कचनकवल वडा नं ३ मा कार्यक्रम सम्पन्न भएको छ । वडाध्यक्ष विजयकुमार राजवंशीको अध्यक्षतामा आयोजित ‘दूषित खानेपानी तथा फोहोरजन्य रोगहरू र पूर्ण सरसफाइमा समुदायको भूमिका’ विषयक अन्तरक्रियात्मक उक्त कार्यक्रममा संस्थाका सचिव न्यौपानेले ‘सरसफाइ र स्वच्छताको अवधारणा, शौचालय एक फाइदा अनेक’ र ‘कोभिड–१९ ले पारेको असर र अपनाउनुपर्ने सावधानी’, अध्यक्ष शान्ति उपाध्यायले खानेपानी सम्बन्धी र उपाध्यक्ष सन्तोष न्यौपानेले ‘फोहोरमैला व्यवस्थापन’ र ‘पूर्ण सरसफाइ’का विषयमा प्रस्तुति दिनुभएको थियो ।

सोही कार्यक्रम बिहीबार वडा नं २ मा वडाध्यक्ष मेखबहादुर भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो । अरू वडामा यसअघि नै कार्यक्रम सम्पन्न भएको क्लिन झापाका सचिव एवम् सरसफाइ योद्धा रुद्रबहादुर न्यानैपानेले जानकारी दिनुभयो ।

कचनकवल गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालित कार्यक्रमहरूमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, शिक्षक, अभिभावक, टाल विकास संस्थाका पदाधिकारीहरूको उल्लेख्य सहभागिता रहेको पनि न्यौपानेले बताउनुभयो । अब कचनकवलका पाँच वटा विद्यालयमा यो कार्यक्रम गरिने बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button