जुम्लामा २५० जनता आवासका घर निर्माणः विपन्न नागरिक खुसी

जुम्ला । चालु आवमा जुम्लामा जनता आवास अन्तर्गत २ सय ५० जना विपन्नको घर निर्माण भएका छन् । जग्गा भएका तर घर निर्माण गर्न सक्ने आर्थिक अवस्था नभएका विपन्न नागरिकको राहतका लागि सरकारी लगानीमा भूकम्प प्रतिरोधी घर निर्माण हुँदा जुम्लाका विपन्न नागरिक खुसी भएका हुन् ।
तातोपानी गाउँपालिका–२ का हरसिंह दमाईले सरकारले विपन्न दलित, विपन्न छनौट गरी घर निर्माणका लागि आर्थिक सहयोग गर्दा ठुलो राहत मिलेको बताउनुभयो । गत वर्ष पनि जनता आवासका लागि पनि निवेदन दिदा छनौट नभएको र यस वर्ष स्थानीय तहले आफू जस्ता वास्तविक विपन्नलाई छनौट गरेकोमा हरसिंह दमाईले खुसी व्यक्त गर्नुभयो ।
त्यस्तै तातोपानी–२ का अति विपन्न दलित कन्न कामीलाई सरकारले घर निर्माण गरिदिएपछि खुसीले मख्ख छन् । भत्किनै लागेको जीर्ण घरमा बसिरहेका कामीलाई छनौट गरी नयाँ घर निर्माण गरेपछि सरकारलाई धन्यवाद दिएका छन् ।
हरसिंह र कन्न कामी जस्तै जुम्लाका २ सय ५० जना विपन्न नागरिक सरकारी लगानीमा जनता आवासको घर निर्माण भएपछि खुसी भएका छन् । तर घर निर्माण भएर बसेको ५÷६ महिना बितिसक्दा पनि तेस्रो र चौथो किस्ता नपाउँदा समस्या भएको लाभग्राहीले गुनासो गरेका छन् । ऋण निकालेर घर लगाएका लाभग्राहीले ब्याज बढ्दै गएकोले चाँडो किस्ता दिन सरकारलाई माग गरेका छन् ।
यता जनता आवासका लाभग्राहीलाई तेस्रो र चौथो किस्ता भुक्तानी दिन करिब ४ करोड ९९ लाख बजेट अभाव रहेको छ । पूर्वाधार विकास कार्यालयका प्रमुख रुप बहादुर रावलले बजेट अभावका कारण लाभग्राहीलाई तेस्रो र चौथो किस्ता दिन नसकिएको बताउनुभयो ।
विगतको भन्दा जनता आवास निर्माणका लागि विपन्न नागरिक छनौट कार्यक्रम प्रभावकारी भएको र कुनै गुनासो नआएको बताउँदै रावलले २ सय ५० घरलाई तेस्रो चौथो किस्ता दिन बजेट नजुट्दा समस्या भएको उल्लेख गर्नुभयो ।
प्रतिव्यक्ति ३ लाख ३६ हजारका दरले विनियोजित ८ करोड ७५ लाख बजेट मध्य पहिलो किस्तामा प्रतिव्यक्ति ८४ हजारका दरले २ करोड १० र दोस्रो किस्तामा ६५ हजारका दरले १ करोड ६२ लाख ५० हजार लाभग्राहीका खातामा पठाइएको छ । भने, तेस्रो चौथो किस्ताका लागि करिब ५ करोड अभाव भएकोले बजेट जुटाउन पहल गरिरहेको पूर्वाधार विकास कार्यालयका प्रमुख रावलले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्