तपाईँ सुन्दै हुनुहुन्छः

कर्णालीका ६७ प्रतिशत नागरिक विद्युत्को पहुँच विहीन 

सबैभन्दा कम विद्युत्को पहुँच भएको जुम्ला सदरमुकाम खलङ्गा । तस्बिरः सागर परियार ।
जुम्ला । विद्युत् उत्पादन क्षमताका हिसाबले देश कै दोस्रो स्थानमा रहेको कर्णाली प्रदेशका ६७ प्रतिशत नागरिक अहिले पनि अँध्यारोमा नैm बस्न बाध्य छन् ।
कुल साढे १७ लाख जनसङ्ख्या रहेको कर्णालीमा अहिलेसम्म करिब ३३ प्रतिशत अर्थात् ५ लाख ६१ हजार नागरिक मात्रै विद्युत्को पहुँचमा पुगेका छन् । ११ लाख ३९ हजार अर्थात् ६७ प्रतिशत नागरिक अहिले पनि टुक्कीकै भरमा रात कटाउन बाध्य रहेको तथ्याङ्कले देखाएको छ ।
करिब १८ हजार मेगावाट विद्युत् उत्पादनको क्षमता र सम्भावना रहेको कर्णालीमा पर्याप्त लगानी नहुँदा नागरिक बत्तीबिना अँध्यारोमा बस्न बाध्य भएको नागरिक अगुवाहरू बताउँछन् ।
केही वर्ष पहिलेसम्म कर्णालीका ७२ प्रतिशत नागरिक विद्युत्को पहुँच बाहिर थिए । तर प्रदेश तथा स्थानीय सरकार आएपछि साना लघु जलविद्युत, सौर्य ऊर्जा निर्माण गरेपछि ५ प्रतिशतले घटेर ६७ प्रतिशत नागरिक अझै विद्युत्को पहुँच बाहिर छन् । विगतको भन्दा ५ प्रतिशत नागरिकको विद्युतीय पहुँचमा वृद्धि भएको देखिन्छ ।
कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७६/२०७७ मा प्रदेशका विभिन्न जिल्लामा ग्रामीण विद्युतीकरणका लागि ५० करोड नौ लाख बजेट विनियोजन गरेको थियो । तर त्यो योजनाले कति नागरिक विद्युत्को पहुँचमा पुगे की पुगेनन् अत्तोपत्तो छैन । कर्णालीलाई लघु जलविद्युत तथा वैकल्पिक ऊर्जामार्फत तीन वर्षभित्र अँध्यारोमुक्त बनाउने लक्ष्य सरकारको छ । जसका लागि प्रदेश सरकारले ‘कर्णाली उज्यालो कार्यक्रम’ पनि सुरु गरेको छ ।
सो कार्यक्रम अन्तर्गत मात्र विभिन्न जिल्लामा १९ वटा लघु तथा साना जलविद्युत आयोजना बन्दै छन् । दुई वर्ष अघिदेखि उज्यालो कार्यक्रम सुरु भए पनि यसको प्रभाव देखिएको छैन ।
५ जिल्लामा पुगेन राष्ट्रिय प्रसारण लाइन
कर्णाली प्रदेशका १० जिल्ला मध्ये पाँच जिल्ला मात्रै राष्ट्रिय प्रसारण लाइनमा जोडिएका छन् । भने पाँच जिल्लामा अझै राष्ट्रिय ग्रिड पुगेको छैन । जसमा सुर्खेत, दैलेख, सल्यान, जाजरकोट र रुकुम–पश्चिममा राष्ट्रिय प्रसारण लाइनको पहुँचमा पुगेको छ ।
माथिल्लो कर्णालीका जुम्ला, कालिकोट, मुगु, हुम्ला र डोल्पा राष्ट्रिय प्रसारण लाइन कहिले पुग्ने कुनै टुङ्गो छैन । कुलमान नेतृत्वको विद्युत् प्राधिकरणले माथिल्लो कर्णालीलाई राहत हुन्छ सोचेका कर्णालीवासीले उनको बर्हिगमनपछि राष्ट्रिय लाइन आउने आशा नै मारिसकेको जुम्ला नागरिक समाजका अध्यक्ष राजबहादुर महतले बताउनुभयो ।
विद्युत् उत्पादनका स्रोत पर्याप्त हुँदा हुँदै पनि अँध्यारोमा बस्नुपर्ने माथिल्लो कर्णालीका बालबालिका, महिला, जेष्ठनागरिकका पिडाले केन्द्र सरकारलाई छुन नसकेको समेत महतको गुनासो छ ।
जुम्लामा दैनिक १५ घण्टा लोडसेडिङ
कर्णाली प्रदेशको राजधानी सुर्खेत पछिको दोस्रो ठुलो सहर जुम्लामा दैनिक १५ घण्टाभन्दा बढी समय नियमित लोडसेडिङ हुने गरेको छ ।
विद्युत् प्राधिकरणको उपस्थिति पश्चात् लोडसेडिङ अन्त्य होला सोचेका जुम्ली नागरिक दैनिक १५ घण्टा अँध्यारो खेप्न बाध्य छन् ।
पानीको बहाव घटेको र विद्युत् उत्पादन पनि घटेकोले आपूर्ति अनुसार बिद्युत् सप्लाई गर्न नसकिएको विद्युत् प्राधिकरण जुम्लाका प्रमुख गौरव पाण्डेले बताउनुभयो ।
उहाँले जुम्ला खलङ्गाका उपभोक्तालाई करिब एक मेगावाट विद्युत् आवश्यक रहेको बताउनुभयो । तर उत्पादन २ सय २० किलोवाट मात्रै छ । बीचमा जेनरेटरबाटै भए पनि नियमित बत्ती दिएको उहाँले जानकारी दिनुभयो ।
अहिले इन्धन सकिँदा लोडसेडिङ बढेको प्राविधिक जुम्लाले जनाएको छ ।  राष्ट्रिय प्रसारण लाइन विस्तारका लागि जुम्लामा पोल गाडिसकिएको र राजनीतिक स्तरबाट पहल भएर चाडै प्रसारण लाइन आउन सक्ने उहाँको भनाई छ ।
खलङ्गामा बत्ती अनियमित हुँदा होटल व्यवसायी, इलेक्टोनिक व्यवसायी मारमा परेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button