गलेश्वरधाममा भक्तजनको घुइँचो

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ मा अवस्थित प्रसिद्ध तीर्थस्थल गलेश्वरधाममा भक्तजनको घुइँचो लागेको छ ।
कोरोना महामारीकै बिचमा पनि काठमाडौँ, चितवन, पोखरा, बागलुङ पर्वत, मुस्ताङ र स्याङ्जालगायतका जिल्लाबाट कालीगण्डकी स्नान र शिवालय दर्शनको लागि श्रद्धालुहरू आएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुद्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
पौराणिक, ऐतिहासिक र पर्यटकीय दृष्टिले अति महत्त्वपूर्ण मानिएको गलेश्वरधाम क्षेत्र रघुगङ्गा नदी र कालीगण्डकीको पवित्र सङ्गममा पर्दछ ।
नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै विशाल चक्रशिलामाथि अवस्थित यस धामामा पूजा अर्चना गरेमा पारिवारिक सुख र शान्ति प्राप्त भई मनोकामना पूरा हुने जनविश्वास छ ।

पौराणिक पात्र जडभरतको तपस्थलीका रुपमा परिचित गलेश्वरधाममा परम्परागत रुपमा रोट चढाउने, वृषोत्सर्ग गर्ने, १०८ बेलपत्र चढाउँदा मनोकामना पूरा हुने विश्वास रहेकोले यस क्षेत्रमा पूजा आराधना गर्न पोखरादेखि आएको एक जना व्रतालुले बताउनुभयो ।
मन्दिरमा प्रवेशद्वारदेखि पूजास्थल सम्म नै उच्च सतर्कता र आवश्यक सुरक्षाका साथै पूजाको व्यवस्था गरिएको छ । भक्तजनलाई अनिवार्य रुपमा मास्क र स्यानिटाइजरको प्रयोग गर्न लगाइएको शिवालय क्षेत्र विकास कोषले जनाएको छ ।
मन्दिर परिसर भित्र नै स्वास्थ्य अवस्था चेक जाँचको व्यवस्थापन पनि मिलाइएको छ । मन्दिरको पूर्व पट्टिको द्वारबाट भक्तजनहरूलाई पूजा गर्न लाइनमा राखिएको छ भने दक्षिण द्वारबाट बाहिर निस्कने व्यवस्था मिलाई कोसले जनाएको छ ।









प्रतिक्रिया राख्नुहोस्