जनकपुर आसपासका शिव मन्दिरहरुमा बिहानदेखि भक्तजनको घुइँचो

जनकपुरधाम । जनकपुरधाम तथा आसपासमा भएको शिव मन्दिरहरूमा महाशिवरात्रीको अवसरमा आज बिहानदेखि नै पूजा अर्चनाका लागि भक्तजनहरूको घुइँचो लागेको छ ।
जनकपुरधामको शिव चौकमा रहेको शिव मन्दिरका अतिरिक्त चार कुनामा रहेको शिव मन्दिरहरूमा पनि भक्तजनहरूको बिहानदेखि नै भिड रहेको छ ।
जनकपुरधामको पूर्वमा रहेको कपिलेश्वरनाथ, दक्षिण पूर्वमा रहेको कसपेश्वरनाथ, पूर्व उत्तर कुनामा रहेको क्षिरेश्वरनाथ तथा पश्चिम दक्षिण कुनामा रहेको महोत्तरीको जलेश्वरनाथमा बिहानदेखि भिड रहेको छ ।
आजका दिन यी प्राचीन शिव मन्दिरहरूमा पूजा अर्चना गर्नाले विशेष फल प्राप्त हुने भएकाले भक्तजनहरू भगवान् शिवका प्रिय रहेका विलपत्र, भाङ्ग, धतुरो, अक्षत, फूल लिएर जल तथा दूध अर्पण गरिरहेका छन् ।
खास गरेर आजका दिन कतिपयले उपवास बस्ने चलन पनि रहेको छ । दिनभरि उपवास गरेर भगवान् शिवको पूजा आराधना गर्ने चलन रहेको छ । शिवको पूजा आराधना सधवा, विधवा तथा कुमारी कन्या तथा पुरुषले गर्ने चलन मिथिलामा रहेको छ ।
सधवा महिलाले पतिको दीर्घायु, सुस्वास्थ्य, समृद्धिको कामनासहित गर्ने गरेका छन् भने कुमारी कन्याले शिव जस्तै वरको कामना गरेर व्रत गर्ने चलन रहेको छ । कतिपय मन्दिरहरूमा भाकल अनुसारको भान्टाको भार तथा अन्य भारहरू चढाउने चलन रहेको छ ।
यसै गरी धनुषा जिल्लाको प्रसिद्ध धनुषा धाम, जनकपुरधामको भूतनाथ सहितको मन्दिरहरूमा दर्शनार्थीहरुको बिहानदेखि नै भिड रहेको छ ।
कोरोनाको प्रभाव प्रदेश नंं २ मा खासै रुपमा नदेखिएकाले शिव मन्दिरमा भिड रहे पनि सुरक्षा सावधानी भक्तजनहरूले आफै अपनाएका छन् ।








प्रतिक्रिया राख्नुहोस्