तपाईँ सुन्दै हुनुहुन्छः

पुलिस क्लब काठमाडौँ मेयर्स कप एक दिवसीय क्रिकेटको फाइनलमा

काठमाडौँ । विभागीय टिम नेपाल पुलिस क्लब काठमाडौँ मेयर्स कप एक दिवसीय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बुधवार भएको आफ्नो अन्तिम लिग खेलमा काठमाडौँ मेयर–११ लाई १ सय ३ रनले पराजित गर्दै पुलिस फाइनलमा पुगेको हो ।

टियु क्रिकेट मैदानमा पुलिसले दिएको १ सय ९८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको काठमाडौँले ३१ ओभर २ बलमा अलआउट हुँदै ९४ रन मात्र बनाउन सक्यो । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले ४७ ओभर ४ बलमा अलआउट हुँदै १ सय ९७ रन बनाएको थियो । प्रतियोगितामा पुलिसको यो तेस्रो जित हो । यस जितसँगै पुलिसले ४ खेलमा ६ अङ्क जोड्दै फाइनलमा पुगेको हो ।

पुलिस तालिकाको शीर्ष स्थानमा समेत रहेको छ । पुलिसले पहिलो खेलमा बागमती प्रदेशलाई हराएको थियो । दोस्रो खेलमा एपीएफसँग पराजित पुलिसले तेस्रो खेलमा आर्मीलाई हराएको थियो । काठमाडौँको यो दोस्रो हार हो । काठमाडौँले ३ खेलमा २ अङ्क जोडेको छ ।

तेस्रो स्थानको रहेको काठमाडौँको पनि फाइनल पुग्ने सम्भावना रहेको छ । पहिलो खेलमा बागमतीलाई हराएको काठमाडौँ दोस्रो खेलमा आर्मीसँग पराजित भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button