तपाईँ सुन्दै हुनुहुन्छः

होटल व्यवसायी महासङ्घ प्रदेश–१ को अध्यक्षमा राजेन्द्र दंगाल

झापा । होटल व्यवसायी महासङ्घ प्रदेश–१ को अध्यक्षमा दमकका युवा व्यवसायी राजेन्द्र दंगाल मनोनीत हुनुभएको छ । आज बिर्तामोडमा सम्पन्न महासङ्घको प्रथम महाधिवेशनले दंगालको अध्यक्षतामा १६ सदस्यीय प्रदेश समिति चयन गरेको हो ।
समितिको वरिष्ठ उपाध्यक्षमा महेन्द्र ढुङ्गाना, तीन उपाध्यक्षमा गोविन्द थापा, देवीप्रसाद पौडेल र जेपी राई, महासचिवमा वासुदेव बराल, सचिवमा शिवकुमार अधिकारी, सहसचिव दिलकुमारी श्रेष्ठ, कोषाध्यक्षमा इन्दिरा श्रेष्ठ र सह–कोषाध्यक्षमा राजन प्रधान चयन हुनुभएको छ ।
त्यस्तै सदस्यहरूमा प्रेम सापकोटा, लालबहादुर श्रेष्ठ, मोक्षरत्न पोख्रेल, पुनम थापामगर, पदमलाल लम्साल र विमल भण्डारी, दिनेश खवास रहेका छन् । समिति २१ सदस्यको हुने र बाँकी सदस्य अध्यक्षले मनोनयन गर्ने प्रावधान रहेको बताइएको छ ।
महाधिवेशनमा बोल्दै होटल व्यवसायीहरूले आफूहरूको व्यवसाय पर्यटनसँग जोडिएको र पर्यटन प्रवर्द्धनसगै होटलहरुको व्यवसायीकरणमा सरकारले ध्यान दिनुपर्नेमा जोड दिए । प्रदेश–१ मा १५ हजार होटल व्यवसायी रहेका छन् । साना, मझौला र ठुला गरी होटल तीन समूहमा विभाजन गरिएको बताइएको छ ।
कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार सिवाकोटीले होटल व्यवसायको सिप विकासका लागि नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले पर्यटकलाई आकर्षण गर्ने विषयमा ध्यान दिन आग्रह गर्दै होटलमा हुने विकृति विरुद्ध व्यवसायी आफैँ सचेत बन्नु पर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button