सेनाको खुल्ला दौडमा पुरुषतर्फ गुरुङ र महिलातर्फ ऐरी प्रथम

तनहुँ । सेना दिवसको पुर्वसन्ध्यामा बुधवार ३ नं. बाहिनी अड्डा खैरेनीटारले आयोजना गरेको खुल्ला दौड प्रतियोगितामा पुरुष तर्फ शुक्लागण्डकीका सुजन गुरुङ र महिला तर्फ कालिकोट राजकोटकी विशेषता ऐरी प्रथम हुनुभएको छ ।
स्थानीयसँग नेपाली सेनाको सम्बन्ध प्रगाढ बनाउने उद्देश्यले आयोजना गरिएको दौडमा पुरुष तर्फ सुजनले ५ किलोमिटरको दुरी १९ मिनेट ३४ सेकेन्डमा पुरा गर्नुभयो । यस्तै महिला तर्फ विशेषताले निर्धारित ५ किलोमिटरको दुरी २३ मिनेट ३० सेकेन्डमा पुरा गर्नुभएको थियो ।
यस्तै पुरुष तर्फ मोरङका राम थापाले १९ मिनेट ४१ सेकेन्डमा, बाग्लुङ्गका सुनिल केसीले २० मिनेट ६ सेकेन्डमा, भिमादका पूर्णबहादुर थापाले २० मिनेट ११ सेकेन्ड र गोर्खाका सत्कार थापाले २० मिनेट ११ सेकण्डमा निर्धारित दुरी पुरा गर्दै क्रमशः द्वितीय, तृतीय र सान्त्वना हुन सफल हुनुभएको छ ।

यस्तै महिला तर्फ गुल्मीकी निर्मला थापाले २४ मिनेट ४२ सेकेन्डमा, थर्पुकी वर्षा श्रेष्ठले २४ मिनेट ४४ सेकेन्डमा दुरी पार गर्दै द्वितीय र तृतीय हुनुभयो । शुक्लागण्डकी ७ की विष्णु लामिछानेले २५ मिनेट ९ सेकेन्डमा र बाग्लुङ्गकी गीतादेवी थापाले २५ मिनेट ३५ सेकेन्डमा निर्धारित दुरी पुरा गरि सान्त्वना हुन सफल हुनुभयो । पुरुष र महिलातर्फ प्रथम हुनेले १५ हजार रुपैयाँ, द्वितीयले १० हजार, तृतीयले ५ हजार रुपैयाँ प्राप्त गर्नुभयो । सान्त्वना पुरुष र महिलातर्फ २/२ जनाले १/१ हजार रुपैयाँ, शिल्ड र प्रमाणपत्र प्राप्त गर्नुभयो ।
प्रतियोगितामा पुरुष र महिलातर्फ प्रथम हुनेलाई पश्चिम पृतना तालिम शिक्षालयबाट पोखरामा प्याराग्लाईडिङको व्यवस्था समेत गरिएको छ । उहाँहरूलाई प्रमुख जिल्ला अधिकारी सागर आचार्य, शुक्लागण्डकी नगरपालिका मेयर किसान गुरुङ, बाहिनीपति सहायक रथी कुमार बाबु थापाले पुरस्कार वितरण गर्नुभएको थियो ।
सो अवसरमा बोल्दै प्रमुख जिल्ला अधिकारी आचार्यले सेना र जनतासँगको सम्बन्ध नजिक बनाउन गरिएको प्रतियोगिता सफल भएको उल्लेख गर्नुभयो । सेनालाई आफ्नो क्षेत्रमा मात्र गतिविधि गर्छ भन्ने आलोचनाबाट मुक्त हुन यसले सहयोग पुग्छ, उहाँले थप्नुभयो, कार्यक्रमले व्यक्तिगत स्वास्थ्यलाई समेत फाइदा पुगी समाजमा एक आपसमा सहयोगको भावना अभिवृद्धि हुनेछ ।
शुक्लागण्डकी नगरपालिकाका मेयर किसान गुरुङले यस प्रकारको खेलकुदले जनता र सेनाबिच नजिक बनाएको उल्लेख गर्नुभयो । उहाँले आगामी दिनमा थप परिष्कृत हुँदै जाने विश्वास व्यक्त गर्नुभयो । बाहिनीपति सहायक रथी कुमार बाबु थापाले महाशिवरात्रीलाई सेनाले जन्मदिनको रुपमा स्थापनादेखि नै मनाउँदै आएको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्