तपाईँ सुन्दै हुनुहुन्छः

खुम्बुमा बढ्न थाल्यो पर्यटकको चहलपहल 

सोलुखुम्बु । कोभिडका कारण विगत लामो समयदेखि सुनसान बनेको सोलुखुम्बुको व्यस्त पर्यटकीय क्षेत्र खुम्बुमा पर्यटकको चहलपहल सुरु हुन थालेको छ ।

कोभिडको महामारी बिस्तारै कम हुँदै जान थालेपछि विश्वको सर्वोच्च शिखर सगरमाथालगायत अन्य मनोरम दृश्यावलोकन गर्न आउने पर्यटकहरूको आगमन दिन प्रतिदिन बढ्न थालेको हो ।

आरोहण सिजन सुरु हुन लागेपछि खुम्बुमा पर्यटकको चहलपहल बढेको हो । हालसम्म यो सिजन सुरु भएपछि १ सय ५५ जना पर्यटक खुम्बु भित्रिएको सगरमाथा राष्ट्रिय निकुञ्जको जोर सल्ले चेक पोष्टले जनाएको छ ।

खुम्बुमा २५ महिला र ४६ पुरुष गरी ७१ जना विदेशी तथा ६३ महिला र २१ पुरुष गरी ८४ जना आन्तरिक गरी १ सय ५५ जना पर्यटक खुम्बु भित्रिएका हुन् ।

सुनसान रहेको खुम्बुमा दैनिक पर्यटकको सङ्ख्या बढ्न थालेको सगरमाथा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले जानकारी दिनुभयो ।

पर्यटकको चाप बढ्न थालेपछि सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय जोर सल्ले प्रवेशद्वारमा चहलपहल बढेको हो ।

पर्यटकहरूको जोर सल्ले प्रवेशद्वारमा अनिवार्य दर्ता गर्नु पर्ने प्रावधान रहेको छ । सोही कार्यालयमा पर्यटक सूचना केन्द्र समेत रहेको छ । केन्द्रले पर्यटकहरूलाई खुम्बु क्षेत्रमा जाँदा पर्यटकहरूले अपनाउनुपर्ने नियम, उच्च हिमाली क्षेत्रमा जाँदा पर्यटकले ध्यान दिनुपर्ने कुरालगायतका विषयमा पर्यटकहरूलाई जानकारी प्रदान गर्ने काम गर्दछ ।

फाटफुट पर्यटक आउन थालेपछि पर्यटक भरियाका रुपमा काम गरेर गुजारा चलाउनेहरूले समेत आशा पलाएको बताएका छन् ।

यसलाई पर्यटन व्यवसायीहरूले सकारात्मक सङ्केतका रुपमा लिएका छन् ।

सन् २००५ यता सगरमाथा राष्ट्रिय निकुञ्जमा बर्षेनी २५ हजारको हाराहारीमा पर्यटकहरू आउने गरेकोमा विश्वव्यापी फैलिएको कोरोना भाइरसका कारण विगत एक वर्ष यता पर्यटन व्यवसाय ठप्प छ ।

त्यस्तै, पर्यटक आउन थालेपछि का्भिडका कारण बन्द रहेका होटेल पनि खुल्न थालेका छन् । महिनौँदेखि बन्द भएका लुक्ला नाम्चे तथा त्यस क्षेत्रको पर्यटन मार्गमा रहेका होटलहरु पर्यटक आउन थालेपछि खुल्न थालेको नाम्चे होटेल व्यवसायी सङ्घका सल्लाहकार लामाकाजी शेर्पाले जानकारी दिनुभयो ।

उहाँका अनुसार नाम्चेमा रहेका ४० भन्दा बढी होटलमा १५ देखि २० वटा होटेल खुलेका छन् ।

लुक्ला हुँदै पर्यटन मार्गमा पर्ने जोर सल्ले, फाक्दिङ, नाम्चे, खुम्जुङ, तेङबोचेलगायतका क्षेत्रका होटेल खुल्न थालेको स्थानीय तोया श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button