तपाईँ सुन्दै हुनुहुन्छः

खानेपानी आयोजना समुदायलाई हस्तान्तरण

सोलुखुम्बु । सोलुखुम्बुको माप्यदूधकोशी गाउँपालिका–५ काँकुमा निर्माण सम्पन्न रोकफुल गोल्दोफ्यार खानेपानी आयोजना समुदायलाई हस्तान्तरण गरिएको छ ।

गोर्खा वेल्फेयर र स्थानीय उपभोक्ताको श्रमदानमा सम्पन्न खानेपानी आयोजना गाउँपालिका अध्यक्ष बुद्धि किरण राईको उपस्थितिमा हस्तान्तरण गरिएको हो । यस खानेपानी आयोजनाबाट रोकफुल र थालाखुमका ४२ घर खानेपानीको समस्याबाट मुक्त भएका छन् ।

रोकफुलका उपभोक्ताका लागि करिब २४ लाख ४० हजार रुपियाँमा खानेपानी आयोजना सम्पन्न भएको हो भने थालाखुमका उपभोक्ताका लागि निर्माण गरिएको खानेपानी आयोजना करिब २३ लाख ३० हजार रुपियाँको लागतमा निर्माण भएको हो ।

गोर्खा वेल्फेयर ट्रस्टका प्रोजेक्ट म्यानेजर चत्रबिर राईले एक कार्यक्रमको आयोजना गरी खानेपानी आयोजना हस्तान्तरण गर्नुभएको छ । खानेपानी निर्माण भएपछि दिगो र व्यवस्थित खानेपानीको आवश्यकता पूरा भएको स्थानीय काजी केसीले बताउनुभयो ।

यसैबीच, सरसफाइ र खानेपानी आयोजनालाई दिगो सञ्चालनका लागि उपभोक्तालाई दुई दिने तालिम समेत प्रदान गरिएको खानेपानी उपभोक्ता समितिका उपाध्यक्ष लालबहादुर राईले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button