तपाईँ सुन्दै हुनुहुन्छः

सिञ्जाको नराकोटमा आँखा उपचार केन्द्र सञ्चालन

सिञ्जाको नराकोटमा आँखा उपचार केन्द्र उद्घाटन कार्यक्रम ।
जुम्ला । यहाँको सिञ्जा गाउँपालिकाको नराकोट स्वास्थ्य चौकीमा आँखा उपचार केन्द्र आज उद्घाटन गरेसँगै सञ्चालनमा आएको छ ।
स्थानीय नागरिकको राहतका लागि गाउँमै आँखा उपचार केन्द्र सञ्चालनमा गरिएको हो ।
सदरमुकाम खलङ्गामा रहेको आँखा उपचार केन्द्रको पहुँचमा नरहेका सिञ्जा क्षेत्रका नागरिकको राहतका लागि आँखा उपचार केन्द्र सञ्चालन भएको सिञ्जा गाउँपालिका अध्यक्ष देवलसिंह रावलले बताउनुभयो ।
सामान्य आँखाका बिरामी हुँदा पनि महँगो खर्च गरेर सदरमुकाममा नै जानु पर्ने नागरिकको बाध्यतालाई मध्यनजर गर्दै आँखा उपचार केन्द्र सञ्चालन गरिएको अध्यक्ष रावलले उल्लेख गर्नुभयो ।
आँखा उपचार केन्द्र सञ्चालनका लागि आवश्यक जनशक्ति, पूर्वाधार तथा उपकरणको व्यवस्थापन गाउँपालिकाले गरिसकेको समेत अध्यक्षले जानकारी दिनुभयो ।
सिञ्जा गाउँपालिकाका ८ वटै वडाका नागरिकले आँखाको उपचार अब सिञ्जामै गर्न पाउने भएका छन् ।
वर्षा लागेसँगै धुलो धुवाँका कारण जुम्ला गाउँमा आँखाका बिरामीहरू बढ्न थालेका छन् ।
बजार क्षेत्रभन्दा गाउँमा आँखाका बिरामी बढी हुने भएकोले सिञ्जामै सञ्चालन गरिएको आँखा उपचार केन्द्रबाट हजारौँ नागरिक लाभान्वित हुने सिञ्जा गाउँपालिकाको विश्वास छ ।
गाउँमै आँखा उपचार केन्द्र सञ्चालन हुँदा सिञ्जा गाउँपालिका स्थानीय नागरिक खुसी भएका छन् । सामान्य आँखाको समस्या हुँदा पनि सदरमुकाम आउजाउ गर्नु पर्ने, खान बस्न दोब्बर महँगो खर्च हुने समस्या भोगिरहेका नागरिकले गाउँमै आँखा उपचार केन्द्र भएपछि सस्तो र छिटो छरितो सेवा पाउनेमा विश्वस्त रहेको सिञ्जाका स्थानीयले बताएका छन् ।
सिञ्जामा सञ्चालन भएको आँखा उपचार केन्द्रले सिञ्जा क्षेत्रका हिमा, सिञ्जा र कनकासुन्दरी गाउँपालिकाका सबै नागरिकलाई सेवा लिन सहज हुने सिञ्जा गाउँपालिका २ नम्बर वडाध्यक्ष नविन शर्माले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button