‘बी आर आइले ७६ लाख मानिसलाई अत्यन्त गरिबीबाट माथि उकास्ने छ’

काठमाडौं । नेपालका लागि चीनका राजदूत हाउ याङ्छीले बेल्ट एण्ड रोड इनिसियटिभ “बी आर आई’’अन्तर्गतको सहकार्यले करिब ७६ लाख मानिसलाई अत्यन्त गरिबीबाट माथि उकास्ने र करिब तीन करोड २० लाख मानिसलाई मध्यमस्तरीय गरिबीबाट माथि उकास्ने बताउनु भएको छ ।
गोरखापत्र राष्ट्रिय दैनिकमा एक लेख प्रकाशित गर्दै राजदुत यान्छीले विश्व बैङ्कको एक प्रतिवेदनका अनुसार “बी आर आई’’अन्तर्गतको सहकार्यले ठुलो संख्यामा गरिबी निवारण गर्न मद्दत पुग्ने देखिएकोबताउनुभएको हो ।
लेखमा राजदूत याङ्छीले पछिल्लो गरिबी उन्मूलन अभियानका कारण चीनमा करिब नौ करोड ८९ लाख ९० हजार गरिबीको रेखामुनि रेहेका ग्रामीण जनता गरिबी रेखाभन्दा माथि उठेका बताउनु भयो ।
नेपालसँग सीमा जोडिएका तिब्बत स्वशासित क्षेत्रका ७४ वटा गरिब काउन्टी (जिल्ला), छ लाख २४ हजार गरिबीको रेखामुनिका जनता सबै सन् २०१९ मा गरिबीमुक्त भएका छन् भने सन् २०२० को अन्त्यमा अल्पसङ्ख्यक जातिका जनताले बसोबास गर्ने सिन् चियाङ ऊग्वेर स्वशासित क्षेत्रमा पनि पूर्णरूपले गरिबी उन्मूलन भएको, राजदूत याङ्छीले जानकारी दिनु भयो ।
चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको एक सय वर्षको उपलक्ष्यमा चीनले गरिबीविरुद्धको युद्धमा पूर्ण सफलता मिलेको घोषणा गरेको थियो ।
चिनियाँ राष्ट्रपति सी चिन फिङले गरिबी उन्मूलन अभियानको आफैले प्रत्यक्ष नेतृत्व लिएको बताउनु हुँदै, राजदूत याङ्छीले सम्पूर्ण देशको विभिन्न तहमा गरिबी उन्मूलनका १६ खर्ब युयान छुटाइएको तथा कुल दुई लाख ५५ हजार ग्रामीण आवासीय कार्य टोलीहरू, ३० लाखभन्दा बढी पार्टी एकाइ सचिव र ग्रामीण आवासीय कार्यकर्ताहरू गरिबीग्रस्त क्षेत्रहरूमा खटाइएको जानकारी दिनुभयो ।
विश्वव्यापी गरिबी न्यूनीकरणमा चीनको उपलब्धीे महत्त्वपूर्ण रहेको विश्व बैङ्कको मापदण्डले देखाएको राजदूत याङ्छीले बताउनु भयो ।
विश्वका सबैभन्दा अविकसित मुलुकको सूचीबाट नेपाललाई हटाएकोमा बधाई ज्ञापन गर्नु हुँदै, राजदूत याङ्छीले राजनीतिक स्थिरताको रक्षा गर्दै आर्थिक सामाजिक विकासलाई केन्द्र बनाई जनजीवनमा निरन्तर सुधार ल्याई “समृद्ध नेपाल सुखी नेपाली’’को लक्ष्य प्राप्तिका लागि नेपाली जनताले मेहनत गर्ने र सन् २०३० मा नेपाललाई मध्यमस्तरीय आययुक्त राष्ट्र बनाउने लक्ष्यतर्फ अगाडि बढ्नेमा आफु विश्वस्थ रहेको उहाँले बताउनु भयो ।








प्रतिक्रिया राख्नुहोस्