१०४ बर्षिया मनरुपाले कोभिड–१९ विरुद्धको खोप लगाउनुभयो

काठमाडौँ । दोस्रो चरणको खोप अभियान अन्तर्गत काठमाडौँको चाबहिलस्थित ॐ अस्पताल खोप केन्द्रमा आज मङ्गलवार पनि ज्येष्ठ नागरिकहरूको उत्साहजनक सहभागिता रहेको छ।
अस्पताल खोप केन्द्रमा आज बिहान ११ बजे काठमाडौँ महानगरपालिका वडा नं.७ कुमारीगालकी स्थानीय बासिन्दा रहनुभएकी १०४ बर्षिया ज्येष्ठ नागरिक मनरुपा चौलागाईले कोभिड १९ विरुद्धको खोप लगाउनु भयो ।
छोरा बुहारीका साथमा ॐ अस्पतालस्थित खोप केन्द्र आउनुभएकी ज्येष्ठ नागरिक मनरुपाले कुराकानीका क्रममा १९९० सालको भुँइचालो जाँदा १४ बर्षकी किशोरी रहेको बताउँदै त्यसताकाको राणा कालिन समय र पञ्चायतकालीन समयको नेपाली जनजीवनबारे रोचक तथ्यहरू सुनाउनुभयो ।
बिहान सबैरै उठ्ने र नुहाई धुवाइ गरेर पूजा पाठ भजन कीर्तन गर्ने मनरुपा अहिले पनि चार तल्ले घरमा आफैँ उक्लन र ओर्लन सक्नुहुन्छ ।

खानाका शाकाहारी सबै खानेकुरा मन पर्ने र नमिठो लाग्ने कुनै पनि खानेकुरा नरहेको तर दही दूध र फलफूल औधी मन पर्ने बताउनुहुन्छ । थोरै थोरै तर पटक पटक खाइरहने र प्रशस्त पानी पिउने उहाँकी बानी रहेको छ ।
१० सन्तानकी आमा मनरुपालाई कोरोना महामारीका बारेमा पनि राम्रो जानकारी रहेछ । सधैँ मास्क लगाएर हिँड्ने गरेको र बेलाबेलामा राम्रोसँग हात धुने गरेको बताउँदै उहाँले बूढाबूढीलाई धेरै अप्ठ्यारो पार्ने कोरोना रोक्ने खोप लगाउन आएको बताउनुभयो ।
काठमाडौँ महानगरपालिका वडा नं ७ का वडाध्यक्ष शुद्ध कुमार डङ्गोलले वडावासीहरू मध्येकी सबैभन्दा ज्येष्ठ नागरिक मनरुपालाई भेटेर उहाँलाई स्वागत गर्दै सुस्वास्थ्यको शुभकामना दिनुभयो ।
ॐ अस्पतालस्थित कोभिड विरुद्धको खोप केन्द्रमा आवश्यक पूर्वाधारसँगै परामर्श तथा चिकित्साकर्मीहरूको पर्याप्तताले खोप कार्यक्रम व्यवस्थित रुपमा सञ्चालन भएकोले सहज रुपमा खोप लिन सकिने व्यवस्था मिलाइएकाले ज्येष्ठ नागरिकहरू अत्यन्त खुशी रहेको र तुलनात्मक रुपमा बढी सहभागिता रहेको अध्यक्ष डङ्गोलले बताउनुभयो ।
ॐ अस्पतालका मेडिकल डाइरेक्टर डा.हरिश जोशीले कोभिड–१९ विरुद्धको विश्वव्यापी लडाई र राष्ट्रिय खोप कार्यक्रममा नेपाल सरकार र ॐ अस्पतालको सहकार्यलाई स्वीकार गरी अत्यन्त उत्साहपूर्वक सहभागी हुनुभएकोमा सम्पूर्ण ज्येष्ठ नागरिकहरूप्रति आभार व्यक्त गर्नुभएको छ ।
रजिष्ट्रेशन डेस्क देखी परामर्श डेस्क र खोप लगाउने कक्ष तथा अब्जरभेसन कक्ष अत्यन्त वैज्ञानिक ढङ्गबाट मिलाइएकाले ॐ अस्पतालस्थित खोप केन्द्रमा कम समयमा खोप लगाउन सकिने भएकाले विना सङ्कोच निर्धक्क भएर खोप लगाउन ज्येष्ठ नागरिकलाई डा.जोशीको आग्रह छ ।
ॐ अस्पताल खोप केन्द्रमा आइतबार अपराह्न सम्म १५ सय जना भन्दा बढी ५६ बर्ष माथिका ज्येष्ठ नागरिकहरूले कोभिड–१९ विरुद्धको खोप लगाइसक्नुभएको अस्पतालले जनाएको छ ।
निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य सेवा प्रदायकहरू मध्येको अग्रणि अस्पताल ॐ अस्पतालले ७० बर्ष माथिका सम्पूर्ण ज्येष्ठ नागरिकहरूको सम्मानमा उहाँहरूको उपचार शुल्कमा १० प्रतिशत छुट समेत प्रदान गर्दै आइरहेको छ ।
साथमा नेपाल सरकारसँगको सहकार्यमा क्यान्सरका बिरामीहरुको विशेष सहुलियत र सरकारी सुविधा सहितको उपचार कक्षको व्यवस्था गरेको छ । त्यसै गरी, मिर्गौलामा समस्या भएका बिरामीहरूका लागि निःशुल्क डायलासिस सेवा समेत प्रदान गर्दै आइरहेको छ ।








प्रतिक्रिया राख्नुहोस्