तपाईँ सुन्दै हुनुहुन्छः

एकल महिलालाई रातो टिका र पछ्यौराले सम्मान

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकाले क्रान्तिको काम गरेको र आफूलाई निकै खुसी लागेको म्याग्दे–५ की एकल महिला पदममाया थापाले भन्नुभयो । उहाँले भन्नुभयो ’म अहिले ४८ वर्षको भएँ, २६ वर्षको उमेरमा श्रीमानको मृत्यु भएपछि एकल महिलाको रूपमा घरमै एउटा छोरा र छोरी हुर्काए र पढाइ सक्षम बनाउन सकेँ ।’
’एकल महिला भनेपछि समाजका केही मानिसले अर्कै दृष्टिकोणले हेर्ने र स्वतन्त्र रूपमा जीवन चलाउँदा पनि नकारात्मक कुरा गर्दै अनेक टीकाटिप्पणी गर्ने गरेको देखिन्छ ।’ भावुक हुँदै थापाले भन्नुभयो ’छोराछोरीको सल्लाह अनुसार रातो टिका र पछ्यौरा ओढ्न आएकी हुँ ।’
यस्तै म्याग्दे –३ कि २१ वर्षीया अन्जु थापाले पनि १ वर्ष अगाडि वैदेशिक रोजगारीको सिलसिलामा गएका आफ्नो श्रीमान् गुमाउनुभयो त्यसपछि रातो नलगाई बसेकामा अब सधैँ यसरी हुँदैन भन्ने मनमा आएकोले रातो पछ्यौरा र टिका लगाएको बताउनुभयो ।
तनहुँको म्याग्दे गाउँपालिकाले एकल महिलालाई रातो टिका र रातो पछ्यौराले सम्मान गरेको छ । १११औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा गाउँपालिकाले एकल महिलालाई सम्मान गरेको हो ।
रातो टिकाले सम्मानित हुँदा अधिकांश एकल महिला भावविह्वल हुनुभएको थियो ।  रातो टिका र रातो पछ्यौरा गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले ओढेर सुरुवात गर्नुभयो । उहाँले अमाजु र जेठानी दिदीबाट जब रातो पछ्यौरा ओढ्नुभयो मञ्चमै भावविह्विल हुनुभयो । गाउँपालिका अध्यक्ष राना स्वयम एकल महिला हुनुहुन्छ ।
समाजलाई पुरानो रूढिवादी परम्परा र संस्कारबाट माथि उकास्न उक्त कार्यक्रम नारी दिवसमा आयोजना गरिएको गाउँपालिका अध्यक्ष मायादेवी रानाले जानकारी दिनुभयो । गाउँपालिकाले २ सय २७ जना एकल महिलालाई रातो पछ्यौरा र रातो टिका लगाएको अध्यक्ष रानाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button