कालीगण्डकी करिडोरमा कालोपत्रे शुरु
पर्वत । राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोरको पर्वत खण्डमा कालोपत्रेको काम शुरु भएको छ ।
जिल्लाको बिहादी गाउँपालिका–३ रानीपानी देखि फलेवास नगरपालिका–६ लमाएखोलासम्म कालोपत्र गर्न थालिएको हो । यो खण्डमा रहेको २३ किलोमिटर सडक कालोपत्रे हुन थालेको कालिगण्डकी करिडोर आयोजना कार्यालय पाल्पाले जनाएको छ ।
कालोपत्रेका लागि १ अर्ब २४ करोड रुपैयाँ बजेट बिनियोजन भएको छ । बजेट विनियोजनसँगै बहुवर्षीय ठेक्काका लागि समेत अर्थ मन्त्रालयले स्वीकृत दिएपछि सडक कालोपत्रेको काम सुरु भएको हो । दुई हप्तापछि सडक कालोपत्रेको काम तीव्र गतिमा हुने आयोजना प्रमुख सुवोध देवकोटाले जानकारी दिनुभयो । देवकोटाले आउँदो दुई वर्षभित्रै सडक कालोपत्रेको काम सम्पन्न गर्ने लक्ष्य लिएको बताउनुभयो ।
कालीगण्डकी करिडोर दुई छिमेकी मुलुक भारत र चीन जोड्ने ब्यापारिक मार्गको रुपमा चिनिन्छ । यो खण्ड पर्वत जिल्लाको मेरुदण्ड समेत हो । कालीगण्डकी कोरिडोर अन्तर्गत गैँडाकोटदेखि पर्वतको मालढुंगासम्मको २ सय ४५ किलोमिटर सडकखण्डमध्ये गैँडाकोटदेखि राम्दीसम्मको १ सय ३१ किलोमिटर सडक कालोपत्रेको काम धमाधम भइरहेको छ ।
हिलेसम्म १५ किलोमिटर सडक कालोपत्रे भइसकेको र चालु आर्थिक बर्षमा ७० किलोमिटर सडक कालोपत्रे सम्पन्न गर्ने लक्ष्य लिएको आयोजना प्रमुख देवकोटाले बताउनुभयो ।
करिडोरको पर्वत खण्डमा पर्ने लमायखोलादेखि अर्मादीसम्म मात्रै कालोपत्रेका लागि बाँकी रहेको छ । उक्त खण्डमा समेत अहिले ट्रयाक खोल्ने काम भइरहेको छ ।
चैत्र सम्ममा ट्रयाक खोल्ने काम सकेर त्यसलाई पनि कालोपत्रेका लागि प्रकृया अगाडी बढाईने प्रमुख देबकोटाले जानकारी दिनुभयो । पर्वतको अर्मादीदेखि स्याङ्गजाको सेतीबेणीसम्मको ५३ किमि मध्ये मिर्मीदेखि सेतीबेणीसम्मको ७ किमीमा सडक र सेतीबेणीदेखि रानीपानीसम्मको ७ किलोमिटर खण्डमा कालोपत्रे गर्ने काम भैरहेको छ । यस्तै करिडोरअन्तर्गत मालढुंगादेखि बेनीसम्मको सडकको स्तरउन्नतीका लागि हालै टेन्डर आह्वान भएको छ । सो सडकको कालिगण्डकी करिडोर बेनी–जोमसोम–कोरला आयोजनाले टेन्डर आह्वान गरेको थियो ।








प्रतिक्रिया राख्नुहोस्