महिला भलिबलको उपाधि महाकुलुङलाई
सोलुखुम्बु । ‘महिलाको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार’ भन्ने नाराका साथ १११ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा सोलुखुम्बुको सल्लेरीमा आयोजना भएको अन्तर पालिका स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाले जितेको छ ।
महिलाहरूले सञ्चालन गरेको स्वर्णिम सारथि संस्था सोलुखुम्बुको आयोजना र सोलुदूधकुण्ड नगरपालिकाको प्रायोजनमा भएको प्रतियोगितामा महाकुलुङ गाउँपालिकाले माप्य दूधकोशी गाउँपालिकालाई २५–१५, २५–२३, २४–२६ र २५–१४ अङ्कले हराउँदै प्रथम भएको हो भने माप्य दूधकोशी गाउँपालिकाले दोस्रो स्थानमा चित्त बुझाउनु परेको छ ।
त्यस्तै, सोताङ गाउँपालिकाले २५–१६, २५–१६, २५–२६ र २५–११ अङ्कले सोलुदूधकुण्ड नगरपालिका–१ टाक्सिन्दुलाई हराउँदै तृतीय स्थान हासिल गरेको छ ।
आठ वटा पालिका रहेको सोलुखुम्बुमा ११ टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने टिमले क्रमशः पचपन्न हजार ५५५ रुपियाँ, चवालिस हजार ४४४ रुपियाँ, तेत्तिस हजार ३३३ र चौथौँ हुने टिमले एघार हजार १११ रुपियाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी महाकुलुङ टिमबाट सुमित्रा कुलुङ, उत्कृष्ट स्पाइकरमा चाँदनी राई, सेटरमा मेलिना कुलुङ, डिफेन्डरमा अर्पणा राई, सर्भरमा सुस्मिका राई, ब्लकरमा सङ्गीता राई घोषित भएका छन् । उत्कृष्ट पोसाकमा सागर वर्कसपको टिम र अनुशासित टिममा सोलुदूधकुण्ड नगरपालिका–९ र मार्च पासमा सागर वर्कसप चयन भएका छन् ।








प्रतिक्रिया राख्नुहोस्