अति विपन्नलाई सोलार सिस्टम तथा रकेट चुलो वितरण
धनकुटा । सहिदभुमि गाउँपालिका धनकुटाले विद्युतको महसुल बुझाउन नसक्ने अति विपन्नलाई सोलार सिस्टम तथा रकेट चुलो वितरण कार्यक्रम सुरु गरेको छ । सोलार सिस्टम वितरणको पहिलो चरणको कार्यक्रम वडा नं ३ बाट सुरु भएको हो ।
गाउँपालिकाको वडा नं ३ का ७ परिवारलाई २० वाट क्षमताको पाँच वटा बत्ती बाल्न मिल्ने सोलार सिस्टम वितरण गर्दै गाउँपालिका अध्यक्ष मनोज राईले कार्यक्रमको सुरु गर्नुभएको हो । सोलार सिस्टम वितरण कार्यक्रमलाई सुरुवात गर्नुहुँदै गाउँपालिका अध्यक्ष राईले सातौं गाँउसभाबाट विद्युत् चुहावट मुक्त तथा उज्यालो गाउँपालिका घोषणा गर्ने अभियानको पक्रिया सुरु भएको जानकारी दिनुभयो ।
वडा नं ३ का दल बहादुर राई, लुनिमा राई, जोक बहादुर राई, प्रधान राई, केबल राई र राजकुमार राईको परिवारले सोलार तथा रकेट चुलो पाएका छन् ।
सोलारसँगै गाउँपालिकाले जलवायु परिवर्तन न्यूनीकरणका लागि धुवाँरहित रकेट चुलो र बायो ग्याँस पनि वितरण गरिरहेको गाउँपालिकाले जनाएको छ ।
वितरण गरिएको सोलार तथा रकेट चुलो गाँउपालिकालाई प्राप्त सशर्त अनुदान ७ लाख र सोही कार्यक्रमका लागि थप गरेको २ लाख बजेट मार्फत सोलार प्यानल खरिद, जडानसहित सुधारिएको रकेट चुलो र बायो ग्याँस समेत वितरण गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्यले जानकारी दिनुभयो ।
गाउँपालिकाले सात वटै वडामा पहिलो चरणमा ४९ र दोस्रो चरणमा २६ गरी ७५ परिवारलाई सोलार प्यानल, सुधारिएको रकेट चुलो र बायो ग्याँस वितरण गरिने जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्