तपाईँ सुन्दै हुनुहुन्छः

सकारात्मक परिवर्तनका लागि नेपाली नारीहरुले खेलेको भूमिका अतुलनीय : सभामुख

काठमाडौँ । सभामुख  अग्निप्रसाद सापकोटा  सापकोटाले नेपाली समाजको सकारात्मक परिवर्तनका लागि नेपाली नारीहरुले खेलेको भूमिका अतुलनीय र प्रशंसनीय रहेको बताउनुभएको छ ।

१ सय ११ औं औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा शुभकामना सन्देश दिदै सभामुख सापकोटाले महिला जनप्रतिनिधिहरुको उल्लेख्य प्रतिनिधित्व र सक्रिय भूमिकाबाट संविधान सभामार्फत् निर्माण भएको संविधानले सबै खालका लैंगिक विभेदको अन्त्य गरेको बताउनुभएको छ ।

उहाँले राज्यका हरेक निकायमा समानुपातिक, समावेशी र सहभागितामूलक सहभागिताको हक सुनिश्चित भएको बताउनुभयो । सभामुख सापकोटाले इतिहासका खास–खास कालखण्डमा नेपाली महिलाहरुले देखाएको अदम्य साहस, कठीन संघर्ष र बलिदानका कारण यी उपलब्धि हासिल भएको बताउनुभयो ।

उहाँले तर यी उपलब्धिहरु व्यवहारमा पूर्ण रुपमा प्रतिविम्वित हुन नसकेको यथार्थ औल्याउनुभयो । सभामुख सापकोटाले संविधान अनुसार सबै निकायमा समावेशी प्रतिनिधित्व सुनिश्चित गर्नु, विभिन्न रुपमा रहेका महिला हिंसा अन्त्य गर्नु, हानिकारक परम्परागत कुरीतिहरु रोक्नु र सारमा महिलाले सम्मानपूर्ण नागरिकका रुपमा बाँँच्न र फक्रिन पाउने समतामूलक समाज निर्माण आजको मुख्य कार्यभार बन्न पुगेको धारणा व्यक्त गर्नुभयो ।

उहाँले कुनै समाज कति समातामूलक छ भनेर जान्न त्यहाँ महिलाको अवस्था कस्तो छ भन्ने कुराले निर्धारण गर्ने बताउनुभयो ।
सभामुख सापकोटाले यस दिवसले महिला विरुद्ध हुने सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गरी स्वतन्त्रता, समानता, सामाजिक न्याय स्थापित गर्न थप उर्जा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button