तपाईँ सुन्दै हुनुहुन्छः

लोथरसम्म पेट्रोलियम पाइपलाइन जडान गर्ने कार्यको अध्ययन सम्पन्न

बारा । बाराको अमलेखगन्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन जडान गर्ने कार्यको अध्ययन सम्पन्न भएको छ । यसको प्राविधिक प्रतिवेदन समेत आपूर्ति मन्त्रालयमा बुझाइएको छ ।

दक्षिण एसियाको पहिलो क्रस बोर्डरको रुपमा रहेको मोतिहारी—अमलेखगन्ज पेट्रोलियम पाइपलाइन परियोजनाको सफलतापछि सरकारले सो अध्ययन पुरा गरेको हो । अध्ययन टोलीका प्राविधिकले पाइपलाइनसम्बन्धी प्रतिवेदन मन्त्रालयलाई बुझाइ सकेको नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो ।

बाराको अमलेखगन्जदेखि चितवनसम्मको ६९ किलोमिटर लम्बाइ रहेको पेट्रोलियम पाइप लाइनको निर्माण गर्न करिब १३ अर्ब लाग्ने अनुमान गरिएको छ ।

एक वर्षभित्र पाइप लाइनमार्फत पेट्रोल ल्याउने गृहकार्य शुरु भएको निगमको प्रदेश २ प्रादेशिक कार्यालयका प्रमुख भरत रेग्मीले जानकारी दिनुभयो ।

अमलेखगन्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार भई सञ्चालनमा आएपछि पश्चिमी तथा उत्तरी नेपालमा पेट्रोलियम पदार्थको सहज रुपमा उपलब्ध हुने र पाइपलाइन सञ्चालनमा आएपछि निगमलाई वार्षिक डेढ अर्ब बचत हुने निगमको अपेक्षा छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button