तपाईँ सुन्दै हुनुहुन्छः

विरोधका पछि ससंद १० मिनेटको लागि स्थगित

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार कार्यविधि) सम्बन्धी पहिलो संशोधन अध्यादेश २०७७ प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद हरूको विरोधका बाबजुद पेश गर्नुभयो ।

बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले अध्यादेश पेश गर्न अनुमति दिएपछि नेपाली काँग्रेसका सांसदहरू उठेर नाराबाजी गर्दै विरोध जनाएका थिए ।

त्यस अघि नेकपा प्रचण्ड–माधव समूहका तर्फबाट सांसद भीम रावलले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश सहित कुनै पनि अध्यादेश ल्याइनु असंवैधानिक रहेकाले त्यसलाई संसदमा प्रवेश गराउन नहुने अडान लिइरहँदा सभामुखले कानुन मन्त्रीलाई अध्यादेश पेश गर्न अनुमति दिएपछि सो समूहका सांसदहरू बैठक बहिस्कार गरी बाहिरिनुभएको थियो ।

सांसद रावलले सरकार र प्रधानमन्त्रीको अबको स्थिति के हो भन्ने स्पष्ट नभई संसद्का कारबाही अगाडि बढाउन नहुने अडान राख्नुभएको थियो ।

बैठकमा नेपाली काँग्रेसका सांसदहरू पुष्पा भुषाल र बालकृष्ण खाँणले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश असंवैधानिक भएकोले त्यसलाई सरकारले फिर्ता लिनै पर्ने अडान राख्नुभयो ।

त्यस बिच पनि सभामुख सापकोटाले सरकारले ल्याएका अध्यादेश प्रतिनिधि सभाको पहिलो बैठकमा पेश गर्नुपर्ने बाध्यकारी व्यवस्था भएकाले आफूले समय दिनुपर्ने स्पष्ट पार्नुभएको थियो ।

प्रमुख प्रतिपक्षको विरोधका बिच कानुन मन्त्रीले अध्यादेश पेश गरेपछि नेपाली काँग्रेसका सांसदहरू नाराबाजी र विरोध गरिरहेपछि संसद् बैठक १० मिनेटका लागि स्थगित भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button