साँढे २ करोड लगानीमा १२ स्याउ ब्लक सञ्चालन हुँदै
जुम्ला । जुम्लामा चालु आर्थिक वर्षमा करिब साँढे २ करोड लगानीमा १२ वटा स्याउ ब्लक कार्यक्रम सञ्चालन हुने भएका छन् ।
जुम्लाका आठ वटै स्थानीय तहका स्याउ किसान लाभान्वित हुने गरी २ करोड ५९ लाखको लगानीमा २ वटा ओखर ब्लक र १० वटा स्याउ ब्लक गरी १२ स्याउ ब्लक कार्यक्रम सञ्चालनका लागि सम्झौता भइरहेको जिल्ला कृषि विकास कार्यालय जुम्लाले जनाएको छ ।
कार्यालयको तथ्याङ्क अनुसार ७ वटा पुराना स्याउ ब्लक र ५ वटा नयाँ ब्लक रहेका छन् । ३० हेक्टर जमिनमा सञ्चालन भइरहेका पुराना ७ वटा स्याउ ब्लकमा प्रति ब्लक २० देखि २३ लाख र नयाँ ५ वटा ब्लकमा १० लाखका दरले जम्मा २ करोड ५९ लाख बजेट विनियोजन भएको छ ।
पुराना ७ वटा स्याउ ब्लकले उत्पादन, बजारीकरण तथा यान्त्रीकरणमा जोड दिइने छ भने नयाँ ५ वटा स्याउ ब्लक कार्यक्रम अन्तर्गत जुम्लामा स्याउ खेतीको क्षेत्र विस्तार गरिने कृषि अधिकृत खेमराज शाहीले बताउनुभयो ।
१२ वटा ब्लकमध्ये यहाँको चन्दनाथ. नगरपालिका ८ मा १ वटा स्याउ ब्लक सञ्चालित छ । साथै तातोपानीमा ३, तिलामा २, सिञ्जामा ५, गुठिचौरमा २ र पातारासी गाउँपालिकामा ४ गरी १२ वटा स्याउ ब्लक सञ्चालन हुने तयारीमा छन् ।
१२ ब्लकमध्ये १० वटा ब्लक किसानसँग सम्झौता भइसकेको र २ वटा सम्झौता हुने क्रममै रहेको कृषि विकास कार्यालय जुम्लाका कृषि अधिकृत खेमराज शाहीले उल्लेख गर्नुभयो ।
ब्लक कार्यक्रम सञ्चालनका लागि बिरुवा, मल तथा औजारमा ५० प्रतिशत, बगैँचा व्यवस्थापन तथा जैविक विषादीमा ५० प्रतिशत र प्राविधिक सहयोगमा ८५ प्रतिशत अनुदान दिइने शाहीले बताउनुभयो । साथै ब्लक सञ्चालनका बजेट र माग अनुसार स्याउ खेतीका लागि चाहिने सम्पुर्ण सामाग्री दिइने छ ।
स्याउ ब्लक कार्यक्रमले जुम्लामा स्याउको विस्तार तथा किसानको जीवनस्तर उस्कान महत्वपूर्ण भूमिका खेल्ने समेत विश्वास गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्