तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश १ स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

भोजपुर । भोजपुरमा जारी प्रदेश नम्बर १ स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शनिवार सकिएको छ । प्रतियोगिताको उपाधि रत्नजित तामाङ र नवीन श्रेष्ठको जोडीले जितेको छ ।

भोजपुरका रत्नजित र नवीनको जोडी प्रदेश १ स्तरीय मेयर कप ब्याडमिन्टनको उपाधि उचाल्न सफल भएका हुन । रत्न र नवीनको जोडीले सङ्खुवासभाका पविन लिनथेप र सोलुखुम्बुका पेम्बा शेर्पाको जोडीलाई पराजित गर्दै उपाधि जित्न सफल भए ।

विजयी जोडीले नगद ५० हजारका साथै मेडल प्रमाण पत्र र ट्रफी प्राप्त गरेका छन् । यस्तै उपविजेता टोलीले नगद ३० हजार मेडल र प्रमाण पत्र तथा तृतीय स्थान प्राप्त गर्ने खेलाडीले नगद १५ हजार, मेडल र प्रमाण पाएका छन् ।

भोजपुर जिल्ला ब्याडमिन्टन सङ्घको आयोजना तथा भोजपुर नगरपालिकाको प्रायोजनमा आयोजित प्रतियोगिताको पुरुष एकलतर्फ पाँचथरका दिवस शंकरले आफ्नै जिल्लाका एसिया जवेगुलाई हराउँदै विजयी बनेका छन् ।

विजयी खेलाडीले नगद २५ हजार सहित मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गरे । उपबिजयी खेलाडीले नगद १५ हजार, मेडल प्रमाण पत्र तथा तृतीय हुनेले नगद ७ हजार ५ सय मेडल र प्रमाण पत्र प्राप्त गरेको आयोजकले जनाएको छ ।

महिला तर्फको खेलमा भोजपुरकै नङ्गशल तामाङ्गले जित हासिल गरेकी छिन । प्रतिस्पर्धात्मक खेलमा तामाङ्गले सुनसरी ब्याडमिन्टन एकेडेमीकी सीमा राजवंशीसँग एक एकको बराबरीको खेल खेल्दै निर्णायक खेलमा अस्वस्थ भई सिमाले खेल त्यागे पछि नङ्गशलले जित हात पारिन् ।

गर्ल्स यु १७ तर्फको प्रतिस्पर्धामा मोरङका रोज पाण्डेले उपाधि जितिन । उनले फाइनल खेलमा सुनसरीकी सृष्टी चाम्लिङ राईलाई पराजित गर्दै उपाधि हात पारेकी हुन् । रोजले १५ हजार नगद सहित मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गरेकी छिन । गरिन् । उपबिजयी सृष्टिले नगद ८ हजार सहित मेडल, प्रमाण पत्र प्राप्त गरिन् ।

यस्तै ब्वाईज तर्फ इटहरी ब्याडमिन्टन क्लबका भोजबहादुर गुरुङ विजयी भए । उनले सुनसरीका सत्यम सुब्बालाई हराउँदै जित निकाले । भोजले ट्रफी मेडल प्रमाण पत्रका साथ नगद १५ हजार र उपबिजयी सत्यमले नगद ८ हजार, मेडल तथा प्रमाण पत्र प्राप्त गरेका छन् ।

प्रतियोगिता अन्तर्गतको यु १३ गर्ल्सतर्फको खेलमा निमा तामाङ्गले उपमाम खड्कालाई पराजित गर्दै नगद ५ हजार सहित मेडल प्रमाण पत्र र ट्रफी प्राप्त गरिन् । उपबिजयी खड्काले नगद ३ हजार प्राप्त गरिन् ।

यस्तै ब्वाईजतर्फ मिबुङ्ग राईले जित हात पारे । उनले तयाबुङ्ग राईलाई पराजित गरे । विजयी तथा उपबिजयी खेलाडीहरूले नगद ५ हजार र ३ हजार तथा तेस्रो हुनेले नगद १५ सय प्राप्त गरे ।

विजयी खेलाडीहरूलाई प्रमुख अतिथि भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आले, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ, पौवादुङमा गाउँपालिकाका अध्यक्ष किरण राई, प्रतियोगिता रेफ्रि अनुप रत्न शाक्य लगायतले पुरस्कार वितरण गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button