तपाईँ सुन्दै हुनुहुन्छः

रुपन्देहीको सदिच्छा स–मिलमा आगलागी हुँदा ९ करोडको क्षति

रुपन्देही । रुपन्देहीको शुद्धोदन गाउँपालिका वडा नं ३ बेतहीमा रहेको एभरेस्ट डोर इन्डिष्टिज तथा सदिच्छा स–मिलमा आगलागी हुँदा ९ करोडको क्षति भएको छ । प्लाई, प्लाईका ढोका उत्पादन गर्ने ईन्डिष्टिजमा आगलागी हुँदा ९ करोड बराबरको क्षति भएको हो ।

उद्योगमा आगोको मुस्लो देखेपछि छिमेकीले सञ्चालकलाई खबर गरेका थिए । शुक्रवार बिहान ५ बजेतिर विद्युत् सट भएर आगलागी भएको बताइए पनि आगलागीको कारण भने खुल्न सकेको छैन । रुपन्देहीका ५ वटा दमकल, स्थानीय र प्रहरीको संयुक्त प्रयासमा आगलागी ४ घण्टा पछि नियन्त्रणमा आएको थियो ।

उद्योगमा तयारी ढोका र प्लाइउड, कच्चादेखि दुई करोड रुपैयाँसम्म पर्ने ठुला मेसिन समेत पूर्ण रुपमा जलेर कामै नलाग्ने भएको इन्डष्ट्रिजका प्रबन्धक रामप्रसाद खनालले बताउनुभयो ।

३ वर्ष अगाडि १५ करोड लगानीमा उद्योग सञ्चालनमा आएको थियो । उद्योगमा १ सय भन्दा बढी मजदुरले रोजगारी पाएका थिए । एभरेस्ट महिला उद्योगी भगवती पाण्डे र गीता बस्याल सञ्चालन गरेको उद्योग हो ।

उद्योगका सञ्चालक सूर्यप्रसाद खनालले बजारमा पठाउन तयार भएको तयारी सामान जलेर नष्ट भएको बताउनुभयो । आगलागीबाट कच्चा पदार्थ, तयारी सामान सबै नष्ट भएको उद्योगीको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button