तपाईँ सुन्दै हुनुहुन्छः

धार्मिक तथा ऐतिहासिक सम्पदाहरूको संरक्षणमा जोड

भोजपुर । जिल्लामा रहेका धार्मिक तथा ऐतिहासिक सम्पदाहरूको संरक्षण गर्दै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्धनमा भोजपुरमा शनिवार भएको एक कार्यक्रमका सहभागीहरूले जोड दिनुभएको छ ।

भोजपुर जिल्लामा रहेका ऐतिहासिक तथा पुराना धार्मिक स्थलहरू उचित मर्मत तथा प्रचार प्रसारका कारण ओझेलमा पर्दै गएको भन्दै सहभागीहरूले धार्मिक पर्यटनमा सबै पक्षले चासो दिनुपर्ने धारणा राख्नुभयो ।

उद्योग वाणिज्य सङ्घ भोजपुर र शिव गोरख कैलाश मन्दिर निर्माण उपभोक्ता समिति भोजपुरको आयोजनामा भएको धार्मिक, सांस्कृतिक एवम् आध्यात्मिक पर्यटनसम्बन्धी अन्तरक्रिया कार्यक्रममा भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आलेले धार्मिक तथा सांस्कृतिक सम्पदाहरूको संरक्षण र संवर्द्धनमा सबै पक्षले ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले नगरपालिका क्षेत्रभित्रका धार्मिक तथा सांस्कृतिक सम्पदाहरूको मर्मत तथा पुन निर्माणका लागि भोजपुर नगरपालिकाले वार्षिक रुपमा बजेट विनियोजन गर्दै आइरहेको उल्लेख गर्नुभयो ।

भोजपुरको गौरव र विकासको लागि धार्मिक, सांस्कृतिक एवम् आध्यात्मिक पर्यटनमा सबैको ध्यान जान जरुरी रहेको नेपाली कांग्रेस भोजपुरका सभापति नन्दमणि राईले बताउनु भयो ।

उद्योग वाणिज्य सङ्घ भोजपुरका पूर्व अध्यक्ष डम्बर श्रेष्ठले आगामी फागुन २७ गते भोजपुर नगरपालिकाको वडा नम्बर ९ मा गोरख कैलाश मन्दिरको शिलान्यास गरिने समेत जानकारी दिनुभयो ।

नागरिक समाजका संयोजक परशुराम तिवारीले भोजपुरको गौरव र उत्थानका लागि पर्यटन क्षेत्रको विकास जरुरी रहेको बताउनुभयो ।

उद्योग वाणिज्य सङ्घ भोजपुरका अध्यक्ष धुव्रलाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा भोजपुर नगरपालिकाका प्रमुख कैलाश कुमार आले, जिल्ला समन्वय समिति उपप्रमुख अनिसा खड्का, नेपाली काँग्रेसका सभापति नन्दमणि राई, गोरखनाथ कल्याण केन्द्रका राजेश श्रेष्ठ, दाँवाली मिलन क्लबका अध्यक्ष रोशन श्रेष्ठ लगायत सरकारी एवं गैरसरकारी निकायका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button