नेपालले द्रुत गतिमा विकास गरिरहेको छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री के पी शर्मा ओलीले नेपालले द्रुत गतिमा विकास गरिरहेको बताउनुभएको छ ।
संयुक्त राष्ट्र सङ्घले नेपाललाई अल्पविकसितबाट विकासशील राष्ट्रको रुपमा स्तरोन्नति गर्न सिफारिस गरेको सन्दर्भ उल्लेख गर्नुहुँदै प्रधानमन्त्री ओलीले हाल नेपालले हरेक महिना बर्ष बराबरको प्रगति गरिरहेको बताउनुभयो ।
किसान सूचीकरण राष्ट्रिय अभियानको आज काठमाडौँमा शुभारम्भ गर्नुहुँदै प्रधानमन्त्री ओलीले कृषिको आधुनिकीकरण र व्यावसायिकता नै अहिलेको आवश्यकता भएको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले सहकारीमार्फत कृषि उत्पादन ठुलो मात्रामा उत्पादन गर्नेतर्फ सबैको ध्यान जानुपर्ने र त्यसो हुन सके मात्र कृषिको विकासबाट बढी फाइदा लिन सकिने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्नका लागि कृषिसँगै अन्य विकास पूर्वाधार स्वास्थ्य, शिक्षालगायतका क्षेत्रहरूको विकास हुनु जरुरी रहेको बताउनुभयो ।
कृषि बिना जीवनको परिकल्पना नै गर्न नसकिने भएकाले र आर्गानिक कृषिको माध्यमबाट स्वास्थ्यकर खानेकुरा भान्सासम्म पुग्ने भएकाले कृषिलाई सम्मानित पेसाका रुपमा स्थापित गर्नु जरुरी रहेको उहाँले बताउनुभयो ।
उहाँले हरेक कुरामा अनुदान मात्रका कुराले कहिल्यै परिणाम नआउने भएकाले केही अनुदानसँगै सहुलियतपूर्ण कर्जालाई विशेष बढवा दिएर कृषि विकासमा कार्यक्रमहरू सञ्चालन गर्न सबैमा आग्रह गर्नुभयो ।
कृषि तथा पशुपन्क्षी विकास मन्त्री पद्मा कुमारी अर्यालले किसान सूचीकरण राष्ट्रिय अभियानले कृषि र किसानलाई सम्मानित बनाउने बताउनुभयो ।
कृषि मन्त्री अर्यालले किसान सूचीकरण व्यवस्थापनको कामबाट अब सही कृषकले फाइदा पाउने र यसबाट कृषि क्षेत्रमा राम्रो प्रगति भई नेपाल आत्मनिर्भर मात्र होइन निर्यातमूलक देश बन्ने दाबी गर्नुभयो ।

कृषि मन्त्रालयका सचिव डा.प्रेमनारायण कँडेलले कृषिमा नयाँ नयाँ प्रविधिको प्रयोगमा मन्त्रालयले जोड दिइरहेको बताउनुभयो ।
कार्यक्रममा नेपालका लागि युरोपियन युनियनका राजदूत नोना डेप्रेजले नेपालको कृषिसँगै हरेक क्षेत्रको विकास र सुधारका लागि युरोपियन युनियनको सहयोग र नेपालसँगको सहकार्य जारी रहने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्