प्रथम राष्ट्रिय महिला तथा पुरुष भारोत्तोलन प्रतियोगिताको तयारी पुरा
सप्तरी । सप्तरीका पूर्व राष्ट्रिय भारोत्तोलन खेलाडी देवसुन्दर यादवको स्मृतिमा फागुन २९ गतेदेखि राजविराजमा हुने ‘देवसुन्दर यादव प्रथम राष्ट्रिय महिला तथा पुरुष भारोत्तोलन प्रतियोगिताको’ सम्पूर्ण तयारी पुरा भएको छ ।
जिल्ला भारोत्तोलन सङ्घ सप्तरीले शनिबार राजविराजमा पत्रकार सम्मेलन गरी प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको छ ।
पत्रकार सम्मेलनमा भारोत्तोलन सङ्घ सप्तरीका अध्यक्ष महेश प्रसाद यादवले प्रतियोगितामा सात वटै प्रदेशसँगै सेना, सशस्त्र र नेपाल प्रहरीका विभागीय टिमको समेत सहभागिता रहने जानकारी दिनुभयो । प्रतियोगितामा कुल १ सय २५ खेलाडी सहभागी हुने जसमध्ये महिला खेलाडीको सङ्ख्या ४० देखि ५० रहने उहाँले बताउनुभयो ।
प्रतियोगितामा १८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिताका लागि जिल्ला सङ्घकै पहलमा स्थानीय तह र विभिन्न सङ्घ संस्था, व्यक्तिबाट उक्त सहयोग रकम जुटाइने उहाँले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
प्रतियोगितामा विभिन्न तौल समूहमा महिला र पुरुषतर्फ ३५–३५ खेलमा प्रतिस्पर्धा हुनेछन् । प्रतियोगिताको उद्घाटन प्रदेश २ का सामाजिक विकास मन्त्री नवल किशोर साहले गर्नुहुने आयोजक समितिले जनाएको छ ।
प्रतियोगिताका विजेता खेलाडीलाई कप, मेडल, कदर पत्रका साथै उत्कृष्ट खेलाडीको चयन गरी नगद पुरस्कार दिइने जनाइएको छ ।








प्रतिक्रिया राख्नुहोस्