मुख्यमन्त्री पोखरेलद्वारा पर्सा—पडेरिया सडक खण्डको उद्घाटन
रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले बृहत् लुम्बिनी चक्रपथ अन्तर्गत पर्सा—पडेरिया सडक खण्डको उद्घाटन गर्नुभएको छ । ३८ करोड ३२ लाख ४० हजार रुपैयाँमा ४ लेन सडक बनेसँगै लुम्बिनी उद्यान बाहिरको क्षेत्र आकर्षक बनेको छ ।
सडक उद्घाटनसँगै लुम्बिनी घुमफिर गर्न आउने पर्यटकको पनि सहज आवागमन हुने अपेक्षा गरिएको छ । भैरहवा—लुम्बिनी ४ लेन सडक विस्तारको काम पनि सम्पन्न भइसकेकोले लुम्बिनी घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरूले भोग्दै आएको सास्ती अन्त्य भएको छ ।
मुख्यमन्त्री पोखरेलले लुम्बिनीको बृहत्तर विकासको योजना अघि बढाइएको र यही योजना अन्तर्गत सडक निर्माणको काम सम्पन्न भएको बताउनुभएको छ ।
पोखरेलले केही वर्षमै लुम्बिनीमा तीव्र गतिमा विकासका काम अघि बढेको बताउँदै आगामी दिनमा रामग्रामको गुरुयोजना तयार भएको तथा तिलौराकोटको गुरुयोजना बन्दै गरेको जानकारी दिनुभयो ।
कार्यक्रममा भौतिक पूर्वाधार मन्त्री बैजनाथ चौधरीले विकासका लागि अब बजेटको अभाव नभई प्रतिफल दिने योजना आवश्यक रहेको बताउनुभयो । मन्त्री चौधरी लुम्बिनीवासीले विकासप्रति अपनत्व लिन सक्दा मात्रै विकासका काम प्रभावकारी हुने बताउनुभयो ।
कार्यक्रममा लुम्बिनी प्रदेशसभाका काँग्रेस प्रमुख सचेतक फकरुद्दिन खान, लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तेय, लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरी, नागरिक अगुवा हेमबहादुर विष्टलगायतले लुम्बिनीको विकासबारे चर्चा गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्