महिलाले असुरक्षित ठानेको एउटा गाउँ !

दोलखा । दोलखाको कालिञ्चोक गाउँपालिका वडा नम्बर ६ लापिलाङमा पछिल्लो पटक एक युवकले श्रीमतीको हत्या गरेपछि स्थानीय महिलाहरूले असुरक्षित महसुस गर्न थालेका छन् ।
तीन वर्षको अवधिमा पारिवारिक तथा सामाजिक कारणले धेरै महिलाले ज्यान गुमाउनु पर्ने अवस्था बनेपछि स्थानीय महिलाहरूले असुरक्षित महसुस गर्न थालेको सुनिता थामी बताउँछिन् ।
पछिल्लो पटक फागुन ८ गते लापिलाङ आग्रालयका २७ वर्षीय हिमाल थामीले खुकुरी प्रहार गरी २१ बर्षीया श्रीमती सुनिता थामीको हत्या गरेका थिए । उनको हत्या पारिवारिक हिंसाको परिणाम भएको स्थानीय महिलाहरूको आरोप छ ।
हिमाल थामीको जेठी श्रीमतीले पनि २०७५ साल वैशाख २ गते झुन्डिएर आत्महत्या गरेकी थिइन् । जेठी श्रीमतीले पनि पारिवारिक हिंसाकै कारण आत्महत्या गरेको स्थानीयको भनाई छ । मृतकको आमा कल्पना थामी आफ्नो छोरीले पारिवारिक हिंसाकै कारण आत्महत्या गरेको दाबी गर्छिन् ।
त्यति बेला मृतकले आफूले आत्महत्या गर्नुमा श्रीमान् हिमाल थामीको कुनै संलग्नता नरहेको भनी चिठ्ठी लेखेको र त्यसैको कारण हिमाललाई सामान्य सोधपुछ मात्र भएको वडा नम्बर ६ का वडा अध्यक्ष मानसिंह थामीले बताए ।
त्यसै गरी झन्डै तीन बर्ष अघि कालिञ्चोक गाउँपालिका वडा नम्बर ५ लापिलाङमा एक युवकले खुकुरी प्रहारबाटै आफ्नो आमाको हत्या गरेको भए पनि उनलाई दुई वर्षमै कारागार मुक्त गरिएको स्थानीय महिलाहरू बताउँछन् ।
त्यति बेला उनलाई मानसिक रोगी भन्दै दुई वर्षमै कारागार मुक्त गरिएको थियो, श्रीमती हत्याको यो घट्नामा पनि त्यस्तै हुने हो कि भन्ने त्रास रहेको छ – स्थानीय एक महिलाले भनिन् ।

हिमाल थामीले श्रीमतीको हत्या स्वीकार गरेको भए पनि उनी मानसिक रोगी भएका र झन्डै तीन वर्षदेखि औषधि सेवन गरिरहेको उनको पारिवारिक स्रोतले जनाएको छ ।
आत्महत्या गरी पहिलो श्रीमतीको मृत्यु भएपछि हिमाल मानसिक रोगी भएको र त्यति बेला देखिनै उनले औषधि सेवन गरिरहेको भिनाजु सञ्जय थामीले बताए ।
कालिञ्चोक गाउँपालिकाको वडा नम्बर ५ र ६ लापिलाङमा तीन वर्षको अवधिमा चारभन्दा बढी महिलाले आत्महत्या गरेको तथा दुई महिलाको हत्या भएको र यसको कारण कहिन कहीँ पारिवारिक हिंसा नै रहेको स्थानीय महिलाहरू बताउँछन् । तीन वर्षको अवधिमा लापिलाङमा तीन जना पुरुषले पनि आत्महत्या गरेको तथ्याङ्कले देखाएको छ ।
स्थानीय सुकिमाया थामी आपराधिक घट्नामा संलग्नलाई कानुनी कारबाही नगरी विभिन्न बहानामा संरक्षण गर्ने काम भए महिला हिंसाका घटना बढ्दै जाने र महिलाहरू घरपरिवारबाटै असुरक्षित महसुस गर्नुपर्ने अवस्था बन्ने बताउँछिन् ।
दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक भेषराज रिजाल लापिलाङमा भएका घट्नाको आफूले सूक्ष्म अध्ययन गरिरहेको र आपराधिक घट्नामा संलग्नलाई उम्कन नदिने बताउँछन् ।
महिला हिंसा तथा आपराधिक घटना नियन्त्रणको लागि प्रहरीलाई सबैले साथ दिनु पर्ने पनि प्रहरी नायव उपरीक्षक रिजालले बताए ।








प्रतिक्रिया राख्नुहोस्