तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँमा ज्येष्ठ नागरिकलाई खोप लगाउन ९४ खोप केन्द्र तोकिए 

तनहुँ । कोरोना विरुद्धको खोप अभियान अन्तर्गत आज फागुन २३ गतेदेखि जिल्लामा ९४ स्थान (केन्द्र)बाट खोप लगाइने भएको छ ।
ती स्थानबाट ६५ वर्षमाथिका वृद्धवृद्धालाई खोप लगाइने स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।
जिल्लाका ८५ वडाका ५० खोप केन्द्रमा पहिलो र ४४ खोप केन्द्रमा दोस्रो चरणमा खोप अभियान सञ्चालन गरिने जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले बताउनुभयो ।
उहाँका अनुसार पहिलो चरण फागुन २३ गतेदेखि २७ गतेसम्म व्यास नगरपालिका, भानु नगरपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र देवघाट गाउँपालिकामा सञ्चालन हुनेछ ।
दोस्रो चरण फागुन २८ गतेदेखि चैत २ गतेसम्म शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका, घिरिङ गाउँपालिका, ऋषिङ गाउँपालिका र म्याग्दे गाउँपालिकामा सञ्चालन हुने अधिकारीले जानकारी दिनुभयो ।
यस अवधिमा १५ हजारभन्दा बढी नागरिकलाई कोभिड विरुद्धको खोप लगाइँदै छ ।
कार्यालयका प्रमुख शङ्कर बाबु अधिकारीका अनुसार दोस्रो चरणका लागि जिल्लामा १ हजार ६ सय ५० भायल खोप प्राप्त भइसकेको छ । “खोप लगाएकाहरूमा सामान्य ज्वरो, हल्का शरीर दुख्ने मात्रै देखिया” प्रमुख अधिकारीले भन्नुभयो,े “खोप सुरक्षित रहेकाले सबैले लगाउनुपर्छ ।”
खोप अभियानमा ६ सय ९१ जना स्वास्थ्यकर्मी परिचालन हुनेछन् । यस मध्ये २ सय ६६ जना तालिम प्राप्त स्वास्थ्यकर्मी र ४ सय २५ जना स्वयंसेवी स्वास्थ्यकर्मी परिचालन हुने जिल्ला स्वास्थ्य कार्यालय तनहुँका फोकल पर्सन एवं कोल्ड चेन असिस्टेन्ट वीरेन्द्र कुमार चौधरीले जानकारी दिनुभयो ।
अभियानका क्रममा ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई कोरोना भाइरस विरुद्धको खोप लगाइने छ । जिल्लामा अहिले ६५ वर्षमाथिका १५ हजार जना रहेका छन् ।
दोस्रो चरणको खोप अभियानलाई सम्पन्न गर्नका लागि पालिका स्तरीय खोप समन्वय समितिलाई सक्रिय बनाइएको छ । खोपका लागि उमेर पुगेको परिचय पत्र अनिवार्य मागिने छ ।
खोप अभियानका क्रममा सबै पालिकामा एक जना चिकित्सक सहितको एईएफआई टिम परिचालन गरिएको छ ।
खोप लगाएर गम्भीर असर देखिएमा उक्त टिमले तत्कालै उपचारको प्रबन्ध मिलाउनेछ ।
खोप अभियान सञ्चालनका लागि जिल्लामा प्रमुख जिल्ला अधिकारी, पालिकामा प्रमुख÷अध्यक्ष र वडामा वडाध्यक्षको संयोजकत्वमा खोप समन्वय समिति गठन गरिसकिएको छ ।
पहिलो चरणमा जिल्लामा ४ हजार ९ सय ६७ जनाले खोप लगाएका थिए । पहिलो चरणको पहिलो समूहका फागुन २ देखि १० गते सम्म १ हजार ८ सय ३० जनाले खोप लगाएका थिए भने दोस्रो समूहका ३ हजार १ सय ३७ जनाले खोप लगाएका थिए । पहिलो चरणमा अग्रपङ्क्तिमा रहेर काम गर्नेलाई दुई समूहमा विभाजन गरेर खोप लगाइएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button