कृषि मन्त्रालयद्वारा परियोजनाको प्रभावकारिताबारे छलफल
काठमाडौँ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले देशैभर सञ्चालित कृषि तथा पशुपंक्षी विकास सम्बन्धी परियोजनाहरूको प्रभावकारिताका सम्बन्धमा शुक्रवार छलफल र अनुभवको आदानप्रदान गरेको छ ।
सातै प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका मन्त्री तथा सचिवहरुको उपस्थितिमा भएको बैठकमा देशैभर सञ्चालित कृषि तथा पशुपंक्षी सम्बन्धी परियोजनाहरूको प्रभावकारिताका विषयमा समीक्षा गर्नुका साथै आगामी दिनमा कसरी अघि बढ्ने भन्ने बारेमा छलफल भएको थियो । छलफलमा कृषि तथा पशुपंक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले विगतमा भएका कमी कमजोरीलाई सच्याउँदै कृषिको विकासमा अघि बढ्नुपर्ने बताउनुभयो ।
सरकारले लिएको समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पुरा गर्न कृषि क्षेत्रका कार्यक्रमहरू प्रभावकारी रुपमा सञ्चालन गर्न आवश्यक रहेको उल्लेख गर्दै मन्त्री अर्यालले कृषिको विकासका लागि स्थानीय पालिकासँगै प्रदेशहरूले एकरूपता नभएका कार्यक्रमहरूलाई व्यवस्थापन गर्दै जान आवश्यक रहेकोमा जोड दिनुभयो । मन्त्री अर्यालले स्थानीय तह र प्रदेशबाट सञ्चालन हुने कृषि परियोजनाहरू गर्व गर्ने गरी निर्माण गर्नु पर्नेमा पनि जोड दिनुभयो ।
छलफलमा बागमती प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई थप प्रभावकारी बनाउन सके कृषि क्षेत्रमा ठुलो प्रगति गर्न सकिने बताउनुभयो ।
लुम्बिनी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले कृषि बिमा कार्यक्रम कृषितर्फ प्रभावकारी हुन नसकेको बताउनुभयो ।
प्रदेश नम्बर २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले आयात प्रतिस्थापन ऐनकै माध्यमबाट कृषिको विकासमा जोड दिनु आवश्यक भएको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्