तपाईँ सुन्दै हुनुहुन्छः

बास बस्ने जमिन उपलब्ध गराउन आग्रह 

सल्यान । सल्यानका भूमिहीन तथा सुकुम्वासीहरूले बास बस्ने एक टुक्रा जमिन उपलब्ध गराउन सरकारलाई आग्रह गरेका छन् ।
भूमिहीन जीवन कटाइरहेका बादी समुदायले आफ्नो नाममा एक टुक्रा जमिन पाएको देख्न एउटा मात्र धोको रहेको बताएका छन् ।
सल्यान खलङ्गामा इन्सेक सल्यानले आज आयोजना गरेको आवासको अधिकार सम्बन्धी सरोकारवाला  बीच अन्तरक्रिया कार्यक्रममा बोल्दै उनीहरूले आफ्नो नाममा एक घर र आफ्नै जमिनमा हलो जोतेर जीविकोपार्जन गर्ने चाहाना रहेका बताएका छन् ।
पुस्तौँदेखि ऐलानी जग्गामा बस्दै आएको तर आफ्नो नामा एक टुक्रा पनि जमिन नभएको शारदा नगरपालिका–३ सङ्गीत टोलकी अनिता गन्दर्भले बताइन । उनले भनिन “आफूजस्तो सुकुम्वासी आउँदो पुस्ता नबनोस् , छोराछोरीको साथमा जग्गाधनीको प्रमाण पत्र होस् ।”
आफ्नो नाममा जग्गा नहुँदा केही पेसा व्यवसाय गर्न पनि निकै समस्या हुने गरेको शान्तिनगरकी निर्मला वादीले बताइन । उनले भनिन “ऐलानी जग्गामा एउटा घर छ तर त्यसबाहेक एक बोट खुर्सानी रोप्ने ठाउँसम्म छैन । कि सरकारले हामीलाई अन्य कुनै रोजगारीको व्यवस्था गर्नुपर्‍यो की अलिकति भए पनि जग्गा दिनु पर्‍यो ।”
भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित रुपमा बस्दै आइरहेका नागरिकलाई सरकारले जमिनको व्यवस्था गर्न थालेको भूमि सम्बन्धी समस्या समाधान आयोग सल्यानका अध्यक्ष लोक बहादुर डाँगीले बताए ।
उनले जिल्लामा भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबास गर्नेहरूको लगत सङ्कलन कार्य भइरहेको बताए ।
अध्यक्ष डाँगीले सरकारले भूमिहीन तथा सुकुम्वासीलाई घरका लागि  ३ सय ४० वर्ग मिटर र खेतीपातीका लागि ३ हजार वर्ग मिटर जमिन उपलब्ध गराउने बताए ।
यस्तै अव्यवस्थित बसोबास गर्नेहरूको हकमा ३ सय ४० वर्ग मिटर आवास र १ हजार वर्ग मिटर खेतीपातीका लागि उपलब्ध गराउने उनको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button