बन्ने भयो अलपत्र अप्पर जुनबेसी मिनी हाइड्रोपावर
सोलुखुम्बु । विगत पाँच वर्षदेखि अलपत्र अप्पर जुनबेसी मिनी हाइड्रोपावर निर्माण हुने निश्चित भएको छ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र सोलुदूधकुण्ड नगरपालिकाबिच सम्झौता भएपछि आयोजना बन्ने पक्का भएको हो ।
बिल गेट्स फाउन्डेसन र तत्कालीन बेनी गाविसबाट प्राप्त रकमबाट बेनी विद्युत् उपभोक्ता समितिमार्फत वि.सं.२०७२ सालबाट काम अघि बढाइएको २५० किलोवाट क्षमताको हाईड्रोपवार बाँकी काम सम्पन्न गर्नका लागि सोलुदूधकुण्ड नगरपालिकाका तर्फबाट मेयर नाम्गेलजाङबु शेर्पा र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका तर्फबाट कार्यकारी निर्देशक मधुसूदन अधिकारीले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।
पाँच करोड ५५ लाख ५० हजार रुपियाँको लागतमा निर्माण कार्य सुरु भई अलपत्र बनेको आयोजनाको स्वामित्व नगरपालिकाले लिएसँगै वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले बाँकी रहेको सम्पुर्ण काम गर्ने भएको हो । सम्झौता पत्रमा नहर निर्माणको कार्य सकिएको तर सडकले क्षति पुर्याएको स्थानमा पुनर्निर्माण गर्नुपर्ने उल्लेख गरिएको छ ।
त्यस्तै, डिसिल्टिङ बेसिन र स्पिल वे निर्माण कार्य सम्पन्न भएको र बाँकी कार्यका लागि स्थानीय सरकारले लगत सङ्कलन गरेको उल्लेख छ । हालसम्म पावर हाउस, मेसिन फाउन्डेसनको काम सकिएको र पावर हाउसको केही काम बाँकी रहेको छ । त्यस्तै आयोजनका विभिन्न कामलाई पूर्णता दिन बाँकी रहेको जनाइएको छ ।
‘उज्यालो नगर’ अभियानमा लागेको नगरपालिकाले अलपत्र हाईड्रोपवार निर्माण कार्यलाई अघि बढाउन सम्झौता गरेको नगरपालिकाका मेयर नाम्गेलजाङबु शेर्पाले बताउनुभयो । नगरले ग्रामीण विद्युतिकरणलाई समेत प्राथमिकतामा राखेर काम गरिरहेको छ ।
लागत अनुमान अनुसार उपभोक्ता समितिले समयमै काम सम्पन्न गर्न नसकेपछि अलपत्र बनेको हाइड्रोपावरको निर्माण अब सम्पन्न हुनेमा आशा पलाएको स्थानीय बताउँछन् ।








प्रतिक्रिया राख्नुहोस्