तपाईँ सुन्दै हुनुहुन्छः

आगलागीबाट साँढे १० करोड बढीको क्षति भएको प्रहरीको अनुमान

file photo

सोलुखुम्बु । चालु आर्थिक वर्ष २०७७–७८ को आठ महिनाभित्र सोलुखुम्बु जिल्लामा १७ वटा आगलागीका घटना हुँदा करिब १० करोड ५७ लाख ४० हजार रुपियाँ बराबरको क्षति भएको प्रहरीको अनुमान छ ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको तथ्याङ्कअनुसार आठ वटा स्थानीय तह रहेको जिल्लामा हालसम्म सबैभन्दा बढी सोलुदूधकुण्ड नगरपालिकाभित्र आगलागीका घटना भएका छन् ।

नगरपालिकाको वडा नं. ११ तिङ्लाका गोकर्ण कार्कीको घरमा असोज २५ गते, सुनिल थापाको घरमा मङ्सिर ९ गते, वडा नं. १० का नाङठिले शेर्पाको घरमा पुस १ गते र वडा नं. ६ दोर्पुबजारमा रहेको सोलु एफएममा फागुन १७ गते गरी नगरपालिका क्षेत्रमा जम्मा चार वटा आगलागीका घटना भएका छन् ।

जिल्लामा हालसम्म भएका आगलागीबाट दुई बालबालिकाको ज्यान गएको छ भने एक बालक घाइते भएका छन् । नेचासल्यानमा भएको आगलागीमा परी सात वर्षका बालक र चार वर्षीय बालिकाको ज्यान गएको थियो भने तिङ्लाका सुनिल थापा मगरको घरमा भएको आगलागीमा परी १४ वर्षीय बालक घाइते भएका छन् ।

खुम्बु पासाङल्हमु गाउँपालिका–४ फार्चेस्थित निमा कर्मा शेर्पाको घरमा भएको आगलागी यो सिजनकै सबैभन्दा ठुलो र बढी क्षति भएको आगलागी मानिएको छ । करिब पाँच घण्टापछि नियन्त्रणमा आएको आगलागीबाट तीन करोड ९३ लाख १५ हजार रुपियाँ बराबरको क्षति भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button