तपाईँ सुन्दै हुनुहुन्छः

कूल गार्हस्थ उत्पादन गणनाको आधार वर्ष परिवर्तन, २०१०/११ कायम

काठमाडौँ । नयाँ आधार वर्ष लागू भएपछि हालको अर्थतन्त्रको आकार केही बढ्ने अनुमान गरिएको छ ।

केन्द्रीय तथ्याङ्क विभागले कूल गार्हस्थ उत्पादन गणनाको आधार वर्ष २०००/०१ लाई परिवर्तन गरेको हो ।

विभागमा आज आयोजित कार्यक्रममा हालको राष्ट्रिय लेखा तथ्याङ्कको गणना गर्दाको आधार वर्ष सन् २०००/०१ प्रतिस्थापन गरी नयाँ आधार वर्ष कायम गरेको जानकारी दिइएको हो ।

अबदेखि सन् २०१०/११ को आधारमा विगत तथा आगामी वर्षको स्थिर मूल्यमा गणना र मापन गरिने छ । सम्पूर्ण गणनाको आधार वर्ष सन् २०१०/११ लाई कायम गरिएको छ ।

अर्थतन्त्रमा नयाँ क्षेत्र उदाउँदै गरेको र परिवेश फेरिएको भन्दै विभागले सन् २०१०/११ लाई नयाँ आधार वर्ष निर्धारण गरेको हो । .

अन्तर्राष्ट्रिय मापदण्ड र सिद्धान्तअनुसार नै नयाँ आधार वर्ष परिवर्तन गरिएको विभागका निर्देशक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

यो नेपालको इतिहासमा पाँचौँ आधार वर्ष हो । दुई दशक पुरानो मूल्य आधारबाट अहिलेको वास्तविक अर्थतन्त्रको मापन कठिन भएकाले आधार वर्ष परिवर्तन गरिएको उहाँले बताउनुभयो ।

यसैबीच नयाँ आधार वर्ष बमोजिम आर्थिक वर्ष २०७६/७७ मा नेपालको आर्थिक वृद्धिदर ऋणात्मक देखिएको छ । गत आवमा वार्षिक आर्थिक वृद्धिदर १.९९ प्रतिशतले ऋणात्मक भएको हो ।

यस वर्ष प्रतिव्यक्ति आय एक हजार १३४ अमेरिकी डलर रहेको विभागले जनाएको छ । नयाँ आधार वर्षअनुसार नेपालको अर्थतन्त्रको आकार रु ३९.४३ खर्ब पुगेको विभागले आज सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button