झापामा पहिलो चरणमा ९ हजार १ सय ६७ जनालाई कोरोना विरुद्धको खोप

भद्रपुर, झापा । झापामा पहिलो चरणमा ९ हजार १ सय ६७ जनालाई कोरोना विरुद्धको खोप लगाइएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय झापाले आज बिर्तामोडमा कोभिड–१९ विरुद्धको दोस्रो चरणको खोप कार्यक्रमबारे जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यालयका फोकल पर्सन जीवन चौलागाईंले जिल्लामा प्राप्त ११ हजार १सय खोप मध्ये ९ हजार १ सय ६७ जनाले खोप लगाएको बताउनुभयो । यो लक्ष्यको ८० प्रतिशतभन्दा बढी हो ।
खोप लगाउनेमा महिलाको सङ्ख्या ३ हजार ७९ रहेको छ भने पुरुषको सङ्ख्या ६ हजार ८८ रहेको छ ।
पहिलो चरणमा पहिलो पटक स्वास्थ्यकर्मी र दोस्रो पटक फ्रन्ट लाइनमा काम गर्ने समूहलाई खोप लगाइएको चौंलागाईंले बताउनुभयो ।
भारतबाट अनुदानमा आएको कोभिशिल्ड नामक उक्त खोप निकै सुरक्षित रहेको पनि उहाँले बताउनुभयो । उहाँले कसै–कसैलाई सामान्य ज्वरो आउने, खोप लगाएको हात सामान्य दुख्ने बाहेक कुनै पनि असर नपरेको बताउनुभयो ।
यसैबीच, झापामा दोस्रो चरणको खोप फागुन २३ गतेबाट सञ्चालन गरिने बताइएको छ ।
राष्ट्रिय निर्देशन अनुसार ६५ वर्ष माथिका सर्वसाधारण समेतलाई लक्षित गरी दोस्रो चरणको खोप कार्यक्रम सञ्चालन गरिने जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख ईश्वरीप्रसाद पौडेलले जानकारी दिनुभयो ।
पहिलो चरणमा तीन वटा खोप केन्द्र रहेकोमा यस पटक जिल्लामा ६० वटा खोप केन्द्रबाट खोप लगाउने व्यवस्था मिलाइएको छ ।
फागुन २३ देखि २७ सम्म पहिलो पटक कनकाई नगरपालिकासमेत माइपर्वू र दोस्रो पटक चैत १ देखि ५ गतेसम्म माई पश्चिमका पालिकामा खोप लगाइने छ ।
यसका लागि झापामा ५८ हजार ५ सय १३ डोज खोप आइसकेको कार्यालयले जनाएको छ ।
पहिलो पटक ३४ हजार ४ सय ५६ जना र दोस्रो पटक २४ हजार ५७ जनालाई खोप लगाउने तयारी रहेको पौडेलले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्